आगामी दिनमा माओवादी शक्तिशाली पार्टी बन्ने : कुमारी मोक्तान

हेटौंडा / नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य कुमारी मोक्तानले आगामी दिनमा माओवादी शक्तिशाली पार्टी बन्ने बताएकी छिन् ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) हेटौंडा ९ को शनिबार आयोजित प्रथम वडा सम्मेलनको उदघाटन गरेपछि माओबादी केन्द्रकी मकवानपुर ईन्चार्ज समेत रहेकी मोक्तानले नेपालमा विचारको हिसाबले माओवादी सबैभन्दा उत्कृष्ट रहेको भन्दै आमनेपालीको पार्टी बन्ने दाबी गरिन् ।

राष्ट्रियता, जनता, महिला, दलित, आदिवासी जनजाति, मधेशी, उत्पीडित बर्गको उत्थानको लागि पार्टीले महत्वपूर्ण भुमिका खेलिरहेको भन्दै उनले विगतमा पार्टी विभाजन भएपनि चाँडै सबै गोलबद्ध हुने जिकिर गरिन् । बर्तमान केन्द्र सरकारमा सबैभन्दा धेरै महिला मन्त्री माओवादीले बनाएको भन्दै उनले मकवानपुरमा १ नम्बरको पार्टी बनाउँने अभियानमा रहेको समेत बताईन् ।

भेलाले मञ्जु देवकोटाको अध्यक्षतामा १७ सदस्सीय अनेमसंघ क्रान्तिकारीको वडा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अञ्जु न्यौपाने, सचिवमा दिलकुमारी तामाङ, कोषाध्यक्षमा रसिला ढकाल लगायत रहेका छन् ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) हेटौंडा ९ की अध्यक्ष गौरी राईको सभाध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका हेटौंडा नगर ईन्चार्ज विवेक राई, नगर अध्यक्ष तिर्थ बहादुर थापा मगर, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय सदस्यहरु रञ्जना श्रेष्ठ, लक्ष्मी माझी, हेटौंडा नगर अध्यक्ष लक्ष्मी पाख्रिन लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

राजनीति समाचार स्थानीय