प्रधानमन्त्री दाहाल अतिकम विकसित राष्ट्रको सम्मेलनमा भाग लिन कतार जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अतिकम विकसित राष्ट्रहरूको पाँचौं सम्मेलनमा भाग लिन कतार जाँदै छन्।

परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल फागुन १९ गते शुक्रबार सम्मेलनमा सहभागी हुन कतारको दोहा प्रस्थान गर्ने बताइन्। त्यसक्रममा प्रधानमन्त्री दाहालले उक्त सम्मेलनलाई सम्बोधन गर्नेछन्।

त्यसैगरी सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग पनि प्रधानमन्त्री दाहालले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ। नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री दाहाल सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रवक्ता लम्सालले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा अतिकम विकसित राष्ट्रहरूको पाँचौ सम्मेलन दोहामा हुँदै छ। प्रोटोकल अनुसारको सम्माननीय प्रधानमन्त्रीज्यूको सहभागिता हामीले सुनिश्चित गरेका छौं। द्विपक्षीय छलफल र साइड इभेन्टमा पनि भाग लिन्छौं। त्यहाँको नेपाली दूतावासमा पनि एउटा कार्यक्रम हुने तय भएको छ।’

चार दिनको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री दाहाल फागुन २२ गते स्वदेश फर्कनेछन्। प्रधानमन्त्री दाहालसँग परराष्ट्र मन्त्रालयका अधिकारी उक्त सम्मेलनमा सहभागी हुनेछन्।

मुख्य समाचार राजनीति