राष्ट्रिय पुरुष बिच भलिबलको उद्घाटन खेलमा आज त्रिभुवन आर्मी र लुम्बिनी प्रदेश खेल्दै

पाल्पा – पाल्पाको रानीमहलमा आजदेखि राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता हुँदैछ । उद्घाटन खेलमा दिउँसो १ बजे त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेश खेल्दै छन् ।  

आज नै सहआयोजक पाल्पा भलिबल संघको टिम र गण्डकी प्रदेशबीच अर्को खेल हुनेछ । यसैगरी लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेश र बाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुने अन्तर्राष्ट्रिय प्रशिक्षक लाक्षिवा गौतमले जानकारी दिनुभयो । 

प्रतियोगितामा कोशी प्रदेश बाहेक अन्य ६ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरी १० टिमले नाम दर्ता गराएका छन् ।

समूह ‘ए’ मा आर्मी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘बी’ मा आयोजक टिम पाल्पा, गण्डकी र बाग्मती, समूह ‘सी’ मा सशस्त्र प्रहरी, मधेश प्रदेश र समूह ‘डी’ मा प्रहरी र कर्णाली परेका छन् । 

समूह ‘सी’ र ‘डी’ परेका दुवै टिम सोझै क्वार्टरफाइनल प्रवेश गरेका छन् 

प्रतियोगिताको पहिलो र दोस्रो दिन समूह चरण र क्वार्टरफाइनलका खेल हुनेछन् भने शनिवार अन्तिम दिन सेमिफाइनल र फाइनल अन्तर्गतका खेलहरु हुनेछन् ।

सञ्जय मेमोरियल फाउन्डेसनले पर्यटकीय क्षेत्र रानीमहलको प्रबर्द्धन र बिच भलिबलको विकासका लागि गत वर्षदेखि प्रतियोगिता सुरु गरेको हो । 

खेलकुद