हेटौंडामा सवारी दुर्घटना हुँदा पाँच जना घाइते, दुईको अवस्था गम्भीर

मकवानपुर । हेटौंडाको दुई छुट्टाछुट्टै स्थानमा आज बिहान भएको सवारी दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् । जिल्लाको हेटौंडा–३ र हेटौंडा–४ मा भएको दुर्घटनामा परेर पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहान साढे १ बजेको समयमा हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बीआर ०१ एफ ०५९५३ नम्वरको ईन्डियन माटरसाइकल पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा–३ मा दुर्घटना हुँदा दुई जना पुरुष गम्भीर घाइते भएका हुन् ।

घाइते हुनेहरुमा मोटरसाइकल चालक भारत बिहार मोतिहारी बस्ने वर्ष ३० को बिशाल कुमार सिंह र मोटरसाइकलमा सवारी सोही ठाउँ बस्ने वर्ष ५० को श्याम देब ठाकुर रहेका छन् । घाइते दुबै जनाको अवस्था गम्भीर रहेको र उनीहरुको हेटौंडा–११, थानाभर्याङस्थि चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

यस्तै, आज बिहान नै हेटौंडा–४, बुद्धचोक नजिकै कान्तिलोकपथ सडकखण्डमा चौघडाबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३–०३००१ प ६५६० नम्वरको मोटरसाइकल आफै अनियन्त्रत भई सोही स्थानमा ना.४ ख ७४७२ न.को ट्रक रोकी समान झार्दै गरेको कामदार हेटौंडा–४ बस्ने ४३ वर्षीय कान्छालाल जिम्बालाई ठक्कर दिँदा घाइते भएका छन् ।

यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकल चालक मकवानपुरको हेटौंडा–६, न्युरेनी बस्ने वर्ष ३९ को सफल अधिकारी र धरान घर भई हाल हेटौंडा–५, सानोपोखरा डेरा गरी बस्ने वर्ष २८ की भावना मगर पनि घाइते भएको प्रहरी निरीक्षक कार्कीले बताए ।

उनका अनुसार, दुर्घटनामा परेर घाइते भएका उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेका छन् ।

प्रहरीले दुबै घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

समाज