नेपाली कांग्रेससहित प्रतिपक्ष दलको अवरोधपछि बागमती प्रदेश सभा बैठक स्थगित भएको छ ।
बजेट पुनः लेखनको माग गर्दै प्रतिपक्ष दलहरूले संसद् अवरोध गरेपछि बैठक स्थगित गरिएको हो ।
प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको र आय–व्ययको विवरण नै नमिलेको भन्दै बिहीबार कांग्रेस र राप्रपाका सांसदहरूले विरोध गरेका हुन् ।
उनीहरूले संसद् बैठकमा नाराबाजी समेत गरेका थिए । प्रतिपक्ष दलका सांसदहरूको विरोध पश्चात् सभामुख भुवनकुमार पाठकले दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका गरेका थिए ।
३ बजेको लागि आह्वान गरिएको प्रदेश सभा पनि सूचना टाँसेर भोलि असार ७ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो ।
बागमती प्रदेश सभाको आजको बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याइएको विनियोजित बजेटमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची तय गरिएको थियो ।
बागमती सरकारले यही असार १ गते आगामी आवको लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।