चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै

। आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ ।
बागमती प्रदेशका चितवन, मकवानपुर, धादिङ देशका विभिन्न क्षेत्रमा रहेका चेपाङहरूले विशेष रूपमा यो पर्व मनाउँछन् । चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ ।
यस छोनाम पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवा, घिरौलालगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि रहेको उनले बताए । चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक मान्यता छ । यसका लागि चेपाङ झाँक्री (पाण्दे) हरुले एकपाखे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बली चढाउने गर्दछन् । यस दिनलाई चेपाङहरुले वारनाको रूपमा मनाउने गर्दछन् । वारनामा कोही चेपाङ काममा निस्कँदैनन्, घरमै बसेर रमाइलो गरिन्छ ।
छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । चेपाङहरुले न्वागी पर्वलाई पान्देई घ्यासा पनि भन्छन् । भेला भएर उनीहरुले ढ्याङ्ग्रो बजाउने, टीका लगाएर आपसमा आशीर्वाद थाप्ने गर्छन् ।
अहिले उब्जिएको मकै तथा अन्य खाद्यान्न बालीले वर्षभरी खान पुगोस् भनेर कामना गर्ने र आपसमा खुसियाली साटासाट गरेर यो पर्व मनाइने गरिन्छ ।
चेपाङहरू मुख्यगरी प्रकृति धर्म मान्छन् । उनीहरू विगतमा जङ्गलका गिठा-भ्याकुर खाएर जीवन धान्ने भएकाले वनजङ्गलसँग राम्रो साइनो गाँसिएको छ । त्यसैले प्रकृतिको पूजा उनीहरूका लागि महत्वपूर्ण हुन्छ ।

मुख्य समाचार समाचार समाज