दुग्ध उत्पादक कृषकको रकम सुनिश्चित गर्दै मनहरी गाउँपालिका

पछिल्लो समय दुग्ध उत्पादक कृषकहरु आफुले बिक्री गरेको दुधको रकम समयमै नपाएर पीडित छन् । देशका अधिकांश कृषक पशुपालन र दुग्ध उत्पादन तथा बिक्री–वितरणको व्यवसाय गर्दछ ।

राज्यले त्यसको व्यवस्थित गर्न नसक्दा झण्डै ८० प्रतिशत कृषकहरु यो व्यवसायमा आत्मनिर्भर बन्न सकेका छैनन् । कृषकहरुले उत्पादन गरेको दुध कतिपय समयमा ‘मिल्क होलिडे’ भन्दै बिक्री–वितरणमा समस्या हुनुका साथै बिक्री भएका दुधको पनि समयमै भुक्तानी नपाउँदा पशुलाई चाहिने आहार खरिद गर्न नसकेपछि यस्ता व्यवसायीहरु मारमा पर्ने गरेका छन् ।

यस्तो समयमा मकवानपुरको मनहरी गाउँपालिकाले कृषकको दुधको भुक्तानीको सुनिश्चिततासँगै पालिकालेनै सहकारीमार्फत् दूध खरिद गरी उद्योगसँग बजारीकरणको व्यवस्था मिलाएको छ । विगत २ महिनादेखी कार्यविधी निर्माण तथा उद्योग र सहकारीसँगको छलफलपछि गाउँपालिकाले मंगलबार हेटौंडा डेरी इन्डस्ट्रीजसँग सम्झौता गरेको हो ।

सम्झौता अनुरुप गाउँपालिकाले कृषीउपज संकलन तथा बिक्री केन्द्र स्थापना गरी सहकारीसँग दुध खरिद गर्ने र उद्योगलाई बिक्री गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

हाल मनहरी गाउँपालिकामा क्रियाशील ६ वटा सहकारीमार्फत् दैनिक ७ हजार लिटरभन्दा बढी दुध संकलन भइरहेको छ । संकलित दुध मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघमार्फत् विभिन्न उद्योगहरुमा बिक्री–वितरण भइरहेको छ । तर, विविध कारणले कृषकहरुले ३ महिनासम्मको भुक्तानी पाएका छैनन् ।

पशुलाई आहारसँगै जिविकोपार्जनमा समेत सहयोग पुग्ने यो व्यवसाय समयमा दुधको भुक्तानी नपाएकै कारण धेरै कृषकहरु पलायन भएका छन् ।

यो सम्झौता मार्फत् कृषकहरुले सहकारीमार्फत् बिक्री गरेको दुधको रकम भुक्तानीको सुनिश्चितता गाउँपालिकाले नै गर्नेछ । आगामी कात्तिक १ गतेदेखि लागू हुने सम्झौता अनुरुप गाउँपालिकाले पाक्षिक (१५–१५ दिन) रुपमा सहकारीमार्फत् कृषकलाई दुधको रकम भुक्तानी दिनेछ ।

यसरी समयमै रकम भुक्तानी पाउँदा कृषकहरुलाई ठुलो राहत मिल्ने गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकराी दिए । ‘जसको जिविकोपार्जनको श्रोत नै दुध बिक्री–वितरण हो, उनीहरुलाई ३–४ महिनासम्म संघले भुक्तानी नदिँदा अप्ठ्यारो हुन्छ ।’, अध्यक्ष कालाखेतिले भने, ‘अब सम्झौता अनुरुप कात्तिकदेखि डेरीले दुध खरिद गर्छ र मंसिरदेखि पाक्षिक रुपमा गाउँपालिकाबाट भुक्तानी दिने व्यवस्था मिलाएका छौँ ।’

मुख्य समाचार समाचार समाज