देशभरका सञ्चारकर्मी अहिले चुनावमा व्यस्त छन् । सधैँ अरुका खबर लेख्ने पत्रकार अहिले आफैँ खबर बनेका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश, जिल्लाशाखा र प्रतिष्ठान शाखाहरुको भोलि हुने निर्वाचनले उनीहरू खबरमा छाएका हुन् ।
बुद्धिजीवी, विश्लेषक र पत्रकारिताक्षेत्रसँग चासो राख्ने सबैबिच चुनावको चर्चा छ । महासङ्घ केन्द्रीय समितिका पदाधिकारी र विभिन्न क्षेत्र (क्लष्टर)बाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यका लागि उमेद्वारहरु समूहमा र एक्लाएक्लै भोट माग्दै हिँडेका छन् ।
नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको १८ सदस्यीय समिति चयनका लागि निर्वाचन हुँदैछ। ३ वर्षे कार्यकालका लागि एक सय १७ जना मतदाताले मतदान गर्नेछन्।
यसअघि गत शनिबार केन्द्रिय समितिको र सोमबार प्रदेश समितिको उम्मेदवारी दर्ता भएको थियो। केन्द्रिय समितिको अध्यक्ष पदका लागि निर्मला शर्मा र रमेश विष्टको उम्मेदवारी परेको छ भने बागमती प्रदेश समितिको अध्यक्ष पदका लागि शिव देवकोटा र कृष्ण सारु मगरले उम्मेदवारी दर्ता गरिसकेका छन्।
शुक्रबार हुने निर्वाचन कार्यक्रमअन्तर्गत बुधबार भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दर्ता गराउनेमा २ जना पत्रकारको संगठनका उम्मेदवार छन् भने ३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। जसमा प्रेस चौतारी मकवानपुर र नेपाल प्रेस युनियन मकवानपुरको साझा उम्मेदवारको रुपमा बालकृष्ण अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, प्रेस संगठन नेपालबाट अञ्जली थापाले उम्मेदवारी दर्ता गरेकी छन्।
स्वतन्त्रबाट पोष्टराज अधिकारी, सुरेश श्रेष्ठ र शिव कुमार रिजालको उम्मेदवारी दर्ता भएको निर्वाचन समिति संयोजक भानुभक्त आचार्यले जानकारी दिए।
यस्तै, उपाध्यक्ष (खुल्ला) मा गणेश अधिकारी, ध्रुव अधिकारी र रविन्द्र गौतमले उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष महिलातर्फ भावना रिजाल र प्रतिक्षा न्यौपानेले उम्मेदवारी दर्ता भएको छ।
सचिव पदका लागि पनि ३ जनाले मनोनयन दर्ता गरेका छन्। जसमा केशव सुवेदी समर्पण , इन्द्रबहादुर बन्जरा (रमेश) र अशोक सुजन श्रेष्ठ रहेको समिति संयोजक आचार्यले बताए।
कोषाध्यक्षमा प्रदिप अधिकारी र एमपी शर्मा, सह–सचिव (खुल्ला)मा विश्वराम अधिकारी र शिवप्रसाद चौलागाईको उम्मेदवारी दर्ता भएको छ।
सहसचिव (समावेशी)मा सन्नु रिजाल र रुपा गुरुङ, सदस्य (दलित) मा संजीव सुनार र सुमित विश्वकर्मा, सदस्य (महिला) मा स्मिता अर्जेल र जमुना थिङ, सदस्य (जनजाति) मा सानुमाया गुरुङ र जयराम मोक्तानले उम्मेदवारी दिएका छन्।
यता, आवश्यक ६ जनाको खुल्ला सदस्यमा १३ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमा जीवराज बख्रेल, कृष्णा विष्ट (सुनिता), कुमारमणि हुमागाईँ, मञ्जिता मैनाली, श्रीराम अर्जुन दहाल, रविन ढुंगाना, सरोज पौडेल, सुमन दाहाल, विवेक सिन्तान, अशेष ढुंगाना, अनिल पराजुली र नवराज वाइवाको उम्मेदवारी दर्ता भएको निर्वाचन समिति संयोजक आचार्यले जानकारी दिए।
यस्तै, केन्द्रीय परिषद् सदस्यमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमा कमलचन्द्र सुमन, नवराज शर्मा र सुजन विडारी छन्।
बुधबार नै ८ जना निर्विरोध निर्वाचित समेत भैसकेका छन्। सदस्य (मधेसी) मा मनिल महतो निर्विरोध निर्वाचित भएका छन् भने प्रदेश परिषद् सदस्यमा ६ जना निर्विरोध निर्वाचित भएका छन्। जसमा सुनिल सिवाकोटी, कपिल खड्का, अनिष लुइँटेल, सरला अधिकारी, बलराम पुडासैनी र नवीन आलेमगर रहेका छन् भने केन्द्रीय परिषद् सदस्य (समावेशी) तर्फ कृष्णराम परियार निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक भानुभक्त आचार्यले बताए।
महासंघको निर्वाचन कार्यक्रम अन्तरगत देशभर तीनै तहको एकैपटक शुक्रबार मतदान हुनेछ ।