मालती उप्रेती मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१, स्थित अमर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएकी दश वर्ष भयो । उनी सोही वडाकी बासिन्दा पनि हुन् । प्रधानाध्यापक भइसकेपछि मालतीले शैक्षिक क्षेत्रसँग जोडिएका गाउँ समाजका वास्तविकतालाई नजिकबाट नियाल्न र अनुभव गर्न पाइन् ।
मकवानपुरको कैलाश गाउँपालिकास्थित शान्ति सिर्जना प्राविमा २०५२ सालदेखि शिक्षण पेशामा आवद्ध भएकी मालतीले हेटौंडा उपमहानगरपालिका–११ स्थित शंकल ज्योति प्रावि
(हालको मावि) मा २०५५ सालदेखि २०६१ सालसम्म संस्थापक प्रधानाध्यापकको जिम्मेवरीमा काम गरेकी थिइन् । त्यसपछि हेटौंडा–१३ स्थित पदमपोखरीमा रहेको युगचेतना प्रावि (हालको मावि) मा उनले शिक्षण पेशा रहेर काम गरिन् । त्यहा उनी प्रधानाध्यापक नभएपनि उनले प्रधानाध्यापककै भूमिका सरह काम गरेकी थिइन् ।
२०६३ साल पुस १ देखि भने उनी हालसम्म हेटौंडा–१ स्थित अमर माविमा कार्यरत छिन् । २०६१ सालदेखि आवद्ध भएको विद्यालयमा उनले प्रधानाध्यापकको जिम्मेवारी भने २०७१ सालदेखि प्राप्त गरेकी थिइन् । तत्कालिन विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले मालतीको लगनशील र क्षमतालाई मूल्याकंन गर्दै विश्वास गरेका उक्त जिम्मेवारी प्रदान गरिएको थियो ।
उनले जिम्मेवारी लिने क्रममा प्रावि तहसम्म पढाई हुने विद्यालयमा हाल माविसम्म सञ्चालनमा छन् । मालतीले प्रधानाध्यापको भूमिका लिइसकेपछि हाल उक्त विद्यालयमा दोब्बरभन्दा बढी विद्यार्थी अध्ययन गर्न आउने गरेका छन् । विगतमा मुस्किलले साढे ३ सय विद्यार्थी अध्ययनरत् विद्यालयमा हाल ६ सय ५२ विद्यार्थीहरु अध्ययनरत छन् । प्रावि तहसम्म अध्ययनहुँदा पनि प्रत्येक वर्ष नगरस्तरीय शैक्षिक मापनबाट प्रत्येक कक्षाका विद्यार्थीहरुको नतीजा उत्कृष्ट आउने
गरेको उक्त विद्यालयमा मावि तहसम्म सञ्चालनहुँदा पनि एसएलसीको नतीजामा पनि उत्कृष्ट हासिल गर्दै आइरहेको र एकवर्ष नगरमै दोस्रो र जिल्लामा चौथो स्थान हासिल गरेर उपमहानगरबाट समेत नगतसहित पुरस्कृत भइसकेका छन् ।
कक्षा १० सम्म सञ्चालन
भइरहेको उक्त विद्यालयमा प्रधानाध्यापक उप्रेतीको आगामी दिनमा १२ कक्षासम्म अध्ययन गराउने योजना रहेको बताउछिन् । ‘प्लस टु सम्म सन्चालन गरेर प्राविधिक शिक्षामा जोड दिने र आगामी वर्षदेखि अंग्रेजी माध्यमबाट कक्षा सन्चालन गर्ने योजना बनाएको छु,’ उनले भनिन् ,‘त्यसो गरेमा विद्यार्थीहरुलाई पनि बढाउन सकिन्छ र राम्रो शिक्षा पनि प्रदान गर्न सकिन्छ भन्ने अपेक्षा छ ।’
विद्यार्थीहरुको सिकाई उपलब्धि उच्च गराउन कमजोर विद्यार्थीहरुलाई थप शिक्षा प्रदान गर्ने र राम्रा विद्यार्थीहरुलाई प्रोत्साहन गर्न सके विद्यार्थीहरुले राम्रो नतीजा प्राप्त गर्न सक्ने उनले बताइन् । प्रधानाध्यापकको जिम्मेवारीमा आएका चुनौतीहरुलाई अवसरको रुपमा लिएर अगाडि बढ्नुपर्ने उनले बताइन् । एक्लो व्यक्तिको प्रयासमा कोही पनि सफल हुन नसकिने बताउँदै उनले विद्यालय सफल बनाउनका निम्ति शिक्षक, शिक्षिका त्यहाका व्यवस्थापन समितिहरुको सहयोगले मात्रै सफल भइने उनले बताइन् ।
कुनै पनि ठाउँ, संस्थाको नेतृत्वमा रहेर काम गर्दा सम्बन्धित क्षेत्रमा रहेका साझा चुनौतीहरू त सबैमाथि आइपर्छन् नै । मालतीले झेल्नुपरेका चुनौती भने महिला हुनुसँग पनि जोडिएका छन् । प्रधानाध्यापक भइसकेपछि उहाले पितृ सत्तात्मक सोच र दृष्टिकोण भएका कतिपय व्यक्तिहरूले महिलामाथि गर्ने अविश्वासजन्य व्यवहारका कारण थपिएका चुनौती पनि भोगिन् । भोग्ने क्रम जारी छ । यसमा प्रधानाध्यापक भनेको पुरुष नै हुन्छ भन्ने मानसिकता पनि पर्छ । समाजका कतिपय व्यक्तिमा रहेको ‘त्यस्तो’ मानसिकता उनले अझै
फेरिएको पाएको छैन । त्यसैले आफू प्रधानाध्यापककै कुर्सीमा बसेका बेला पनि ‘हेडसर खोई ?’ भनेर सोध्नेहरुलाई उनले ‘म नै हो’ भनेर जवाफ दिँदै आएकी छन् ।