१६ भाद्र २०७७ , मकवानपुरगढी – मकवानपुरगढी गाउँपालिकाको सदरमुकाम वडा नं ३ को मक्रान्चुलीमा दैनिक उपभोग्य सामाग्रीको खरिदका लागी खासै समस्या त हुन्न , त्यहाँ रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले किसानहरुसँग दूध खरिदको अलावा पशुलाई चाहिने दैनिक आहारा देखि मानव खाद्य पदार्थ लगायत दैनिक उपभोग्य सामाग्रीको बिक्री गर्ने हुँदा धेरैको आवस्यकता त्यहिबाट पूरा हुने र अन्य पसलहरुले पनि तरकारी लगायतका सामाग्रीहरु बिक्री गर्ने हुँदा आवश्यक सामानहरु उपलब्ध हुने गरेका छन् ।


महिलाहरुको कपडा सिलाउने टेलर्सहरु खाँचो छैन , खाँचो थियो त पुरुषहरुको कपडा सिलाउने टेलर्सको । पुरुषहरूको कपडा सिलाउन पर्दा मकवानपुरगढीको अन्य ठाउँको अलावा हेटौंडा बजार जानुपर्ने बाध्यता थियो । हेटौंडामा संचालन भइरहेको मनकामना टेलर्स मक्रान्चुली सरेको करिब २० – २५ दिन भयो । सरेको शुरुका दिन देखी नै कामहरु भटाभट आउन थालेको र अहिले दिनप्रतिदिन चाप बढ्दै गइरहेको सो टेलर्सका प्रोपाइटर उपेन्द्र प्रसाद चौरसिया बताउछन् ।
पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नं ६ , भेडियारी घर भएका चौरसिया टेलरमा एक्लै छैनन् साथमा आफन्त सन्तोष प्रसाद चौरसियालाई पनि काममा पार्टनर बनाएका छन् । उपभोक्तालाई कपडा किन्न बजार सम्म जान नपरोस् भनी उनले कपडा पनि बिक्रीका लागि राखेका छन् । दैनिक कामको चाप बढेकोले अर्डर गरेको ४-५ दिन पछिमात्र सामान उपलब्ध गराउने गरेको चौरसियाको भनाई रहेको छ । कोरोना भाइरसका कारण देशैभरी लकडाउन हुँदा शहर बजारमा अहिले यस्ता पसलहरु संचालन गर्न त्यति सहज छैन तर गाउँमा भने संचालन गर्न त्यति असहज छैन ।
त्यसो त आफ्नै गाउँ टोलमा नै आवश्यक परेको कपडा खरिद तथा सिलाउन पाउँदा गाउँबासी पनि खुसी नै छन् । गाउँमा टेलर्सको सार्है खाँचो थियो अब भने केही हदसम्म खाँचो पूरा भएको ३ वडा अन्तर्गत देविडाँडाका यदुनाथ रेग्मी बताउँछन् , उता सोही अनुसारको जवाफ दिन्छन् धमिलेका गोविन्द प्रसाद दाहाल पनि । रेग्मी र दाहाल त प्रतिनिधि पात्र मात्र हुन् समग्र मक्रान्चुलीबासीको लागि एउटा अत्यावश्यक परेको टेलर्सको खाँचो केही हदसम्म पूरा भएको छ ।