
२० भाद्र २०७७ , मकवानपुरगढी – मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाका कृषकहरु प्लाष्टिक टनेल भित्र बेमौसमी तरकारी खेती तर्फ आकर्षित भएका छन् ।


हाल यस गाउँपालिका भरिमा करिब १५० रोपनी भन्दा धेरै क्षेत्रफलमा प्लाष्टिक टनेल भित्र गोलभेडा लगाएको र प्लाष्टिक टनेल बनाई तरकारी खेती गर्ने कृषकहरुको संख्या २७४ रहेको गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।

गाउँपालिकाको तथ्यांक अनुसार प्लाष्टिक टनेल भित्र खेती गर्नेमा वडा नं १ मा ३ रोपनी , २ मा १० रोपनी , ३ मा १० रोपनी , ४ मा ३ रोपनी , ५ मा ५ रोपनी , ६ मा २० रोपनी , ७ मा ५ रोपनी र ८ मा १०० रोपनी क्षेत्रफलमा खेती भइरहेको छ ।

आ.व. ०७५/७६ मा नै वडा न. ८ बुढिचौर लाई प्लाष्टिक टनेल भित्र बेमौसमी तरकारी खेतीको लागि पकेट क्षेत्र घोषणा गरिएको छ । अहिले वडा न. ८ बुढिचौरमा गोेलभेडा उत्पादन र बिक्री शुरुवात भईसकेको र अहिलेसम्ममा करिब ३० लाख बराबरको गोलभेडा बिक्री भईसकेको शाखा प्रमुख चौधरीको भनाई रहेको छ ।

समतल तल्लो क्षेत्रहरुमा मुख्य गरेर दशै तिहार लाई लक्षित गरि गोलभेडा लगाएको र फाटफुट उत्पादन समेत शुरु भइसकेको छ । तल्लो क्षेत्रमा विशेष गरि कुर्लेफाँट,धमिलेफाँट,धादिङ-भालुखोलाफाँट,बाग्दली र डुम्रेकुनाफाँटहरु पर्दछन ।

गाउँपालिकामा टनेल खेती गर्ने किसानको संख्या बढ्दो छ । वडा न. ८ बुढिचौरमा मात्रै करिब १२५ जना किसान सहभागी रहेका छन् । अब हिउँदे तरकारी लगाउने समय हुन लागेकोले बुढीचौरमा केराउ, सिमी, रायो, काउली र बन्दा लगाउने अन्तिम चरणमा रहेको छ । यसैगरी तल्लो क्षेत्रमा काउली, बन्दा, चम्सुर, धनियाँ, सिमी केराउ, बोडी लगायतका तरकारीहरु लगाउने तयारीमा किसानहरु रहेका छन् ।
