
२४ भाद्र २०७७ , काठमाण्डौं – बीमा समितिले कोरोना भाइरस (कोभिड-१९) बाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न नयाँ मापदण्ड लागू गरेको छ ।
समितिले कोभिड-१९ बाट उत्पन्न हुनसक्ने जोखिमलाई आर्थिक सुरक्षण प्रदान गर्न बीमा समितिबाट लाइसेन्स प्राप्त २० वटा बीमा कम्पनीमार्फत बिमा गर्न सकिने व्यबस्था मिलाइएको हो ।
बीमा कार्यक्रम अन्तर्गत एक लाख र ५० हजार गरी दुई प्रकारको बीमाङ्क कायम गरिएको समितिको सूचनामा उल्लेख छ ।
एक लाख रुपैयाँ बीमाङ्क कायम भएको बीमाका लागि प्रतिव्यक्ति एक हजार र ५० हजारको बीमाङ्कका लागि प्रतिव्यक्ति पाँच सय रुपियाँ बीमा शुल्क लाग्ने छ ।
संगै बसेको परिवारका सबै सदस्यको सामूहिक बीमा गरेमा एक लाखको बीमाङ्कका लागि प्रतिव्यक्ति छ सय र ५० हजार रुपियाँको बीमाङ्कका लागि प्रतिव्यक्ति तीन सय लाग्ने छ ।
बीमा लेख खरिद गर्नका भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केकाहरुमा १५ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको हुनुपर्ने सर्त तोकिएको छ ।
सामूहिक कोरोना बीमाका लागि आफ्नो एकाघर परिवारका सदस्य उल्लेख गरिएको स्वघोषणासहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात तथा एकल वा सामूहिक कोरोना बीमा खरिद गर्न चाहने व्यक्ति वा परिवार विगत ३० दिनसम्म नेपालमा बसोबास गरेको स्थानीय तहले प्रमाणित गरेको कागजात हुनुपर्ने समितिले जनाएको छ ।
समितिले दाबीसम्बन्धी व्यवस्थामा पनि कोरोना बीमा लेख खरिद गरेको १५ दिनपछि र स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरस सङ्क्रमण भएको पाइएमा बीमा लेखबमोजिमको रकम भुक्तानी प्राप्त गर्न सकिने जनाएको छ । बीमा कम्पनीले दाबीको निवेदन प्राप्त गरेको सात दिनभित्र बीमितलाई दाबी भुक्तानी गर्नुपर्ने छ ।
सामूहिक कोरोना बीमाका लागि अनुदान प्राप्त गर्न बीमकले समितिबाट जारी गरिएको कोरोना बीमा मापदण्ड २०७७ मा तोकिए बमोजिमका जोखिमाङ्कन व्यवस्थासम्बन्धी कागजात पेस गर्नुपर्ने समितिले जनाएको छ ।
एकाघर परिवारका सम्पूर्ण सदस्यको सामूहिक बीमा गरिएको स्वघोषणा एवं सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात तथा एकाघर परिवारका सदस्यको नाम तथा उमेर खुल्ने सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात हुनुपर्ने समितिले जनाएको छ ।