
२४ भाद्र २०७७ , मकवानपुर – कोरोना महामारीका कारण कामविहीन भएका विपन्न तथा श्रमिकहरूलाई हेटौँडा–४, हुप्रचौरमा सामूहिक भोजन गराइएको छ । हेटौँडाकै सामाजिक परोपकारमा पनि सक्रिय रहने परशुराम स्मृति प्रतिष्ठान र मकवानपुर जिल्ला फुटबल संघले भोकाहरूलाई भोजन गराएको हो ।
भोकाहरूलाई मदन भण्डारी फाउन्डेसनले रासन वितरण गरे पनि यसअघि समूहिक रूपमा खाना खुवाउने कार्यको सुरुवात भएको थिएन । बुधबार करिब २ सय जनाले खाना खाएको आयोजकले जानकारी दिएका छन् । हेटौँडा उपमहानगरपालिकाभित्रको हटिया, पदमपोखरी, मकवानपुरगढी गाउँपालिका घर भएका श्रमिकहरूले आज खाना खाएका हुन् ।
हरेक दिन बिहान १० बजेदेखि २ बजेसम्म हुप्रचौर परिसरमा खाना खुवाइने आयोजकले जानकारी दिएको छ । दैनिक बिहानको छाक खाना खुवाइने प्रतिष्ठानले जनाएको छ । कोरोना महामारीको कारण जारी निषेधाज्ञा र लकडाउनको कारण जनजीवन ठप्प हुँदा मजदुर वर्गलाई छाक टार्ने मुस्किल परिरहेको छ ।