२६ भाद्र २०७७ , मकवानपुर – जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा रहेका १० स्थानीय तहको अत्यावश्यक कामको लागि सेवा दिने दिन तोकेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै कार्यालयबाट जारी गरिने नागरिकता , प्रतिलिपी नागरिकता र राहदानी दिनको लागि दिन नै तोकेको हो ।
जस अनुसार थाहा नगरपालिका , ईन्द्रसरोबर गाउँपालिका , कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकाको लागि आइतबार र सोमबार छुट्याएको छ । त्यसै गरि बागमती , बकैया , मकवानपुरगढी र भिमफेदी गाउँपालिकाको लागि मंगलबार र बुधबारका दिन तोकेको छ । त्यस्तै हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको लागि बिहीबार र शुक्रबार को समय दिएको छ ।
भिडभाड नहुने अन्य कामको लागि भने सबै स्थानीय तहहरुले नियमितरूपमा आइतबारदेखि शुक्रबार सम्म नै सेवा लिन सक्नेछन् । सेवा दिने क्रममा हुन सक्ने भिडभाड तथा कोभिड १९ संक्रमणको जोखिमलाई समेत मध्यनजर गर्दै अर्को सूचना जारी नभए सम्म यस्तो ब्यवस्था मिलाइएको बताएको छ ।