
२७ भाद्र २०७७ , मकवानपुरगढी – गाईपालन गर्न थालेपछि मकवानपुरगढी गाउँपालिका वडा नं – ३ , देविडाँडा घर भएका सानुकान्छा वाईबाको दैनिकि फेरिएको छ । नम्बरी र ऐलानी गरेर पाखो बारी करिब ३० कट्ठा जग्गा जमिन भएका उनको परिवारलाई सबै जग्गामा बाली लगाउँदा पनि वर्ष भरी खान पुग्दैनथ्यो र उनी आफ्नो खेतीपातीको काम सँगसँगै ज्यालादारीका काममा पनि जाने गर्थे ।



तर अहिले उनको दैनिकी फेरिएको छ , उनले गाईपालन गर्न थालेको करिब १८ महिना हुँदैछ । गोठमा साना-ठुला गरेर १० वटा गाई पालेका छन् । त्यसबाट सरदर दिनको ६० लि. दूध उत्पादन भैरहेको र त्यो दूध स्थानीय दुग्ध सहकारीमा बिक्री गर्दा सरदर मासिक १ लाख आम्दानी भैरहेको उनी बताउँछन् । आफुसँग भएको जग्गा मध्ये करिब १५ कठ्ठा जग्गामा विकासे घाँस लगाएका छन् ।

७ छोरी र १ छोरा सहित आठ सन्तानका पिता उनी , ४ छोरीको जन्म भएपछि उनको श्रीमतीको क्यान्सरका कारण निधन भयो । पछि उनले श्रीमती कै बहिनी बिष्णुकुमारी सँग दोस्रो विवाह गरे । बिष्णुकुमारीले फेरि ३ छोरी र १ छोरालाई जन्म दिइन् । अब भने उहाँहरुलाई सन्तानको रहर पुगेको छ । अहिले सानुकान्छा ४९ वर्षका भए । परिवार ठूलो भएकोले उनलाई गाईगोठको काम गर्न समस्या छैन । गाई दुहुने , पानी खुवाउने , घाँस- भकारो गर्न छोरीहरुले सघाउँछन ।

गाईपालन ब्यवसायका लागि आफुसँग पुँजी नभएकोले उनले गाउँमा नै रहेको बंगलादेश बैंकबाट १५ लाख ऋण निकालेका छन् । राज्यकोषबाट कुनै अनुदान नपाएका उनले यसपटक भने गाउँपालिकाबाट घाँस काट्ने मेसिन च्यापकटर अनुदानमा पाए । आफुसँग भएको सबै जमिनमा ब्यवस्थित तरिकाले घाँस लगाई उनी अझै ब्यवसाय बढाउने योजनामा छन् । सानुकान्छा अहिले एक उदाहरण पात्र भएका छन् ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ , देविडाँडामा करिब ४०-४५ घरधुरी तामाङ समुदायको बस्ती छ । त्यो बस्तीमा अहिले प्रत्येक घरमा २-३ वटा गाई नभएको र डेरीमा दुध नबेच्ने एक परिवार पनि छैन । मकै कोदि फल्ने बारिमा अहिले घाँस लगाउन थालिएको छ । मदिरा उत्पादन गरेर बिक्री गरि आफ्नो घरपरिवार चलाई रहेकाले अहिले दूध बेचेर आम्दानी लिन थालेका छन् ।

पेशा परिवर्तन गराई सम्मानित पेशा गाई पालन गरि दूध उत्पादन गराउने उदेश्यले यहाँ रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले समुदाय केन्द्रित गरि प्रती परिवार बार्षिक १० हजार सम्म अनुदान दिन थालेपछि यो समुदायको दैनिकी फेरिएको छ। घर चलाउन राति राति मदिरा बेच्न बाध्य परिवार अहिले टिलिक्क टल्कने क्यानमा दूध बोक्न थालेका छन् । र अहिले सबैजना खुशी छन् ।