
वीरगन्ज – वीरगन्जमा कोरोना भाइरस संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । बाराको जितपुर सीमरा उपमहानगरपालिका १४ डुमरवानाकी ५५ वर्षीया संक्रमित महिलाको सोमबार बेलुकी मृत्यु भएको हो ।
वीरगन्ज स्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत ती महिलाको सोमबार बेलुकी साढे ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए । मधुमेह र हाइपरटेन्सनको समस्याले ग्रसित ती महिलामा कडा खालको निमोनिया देखिएपछि सोमबार बिहान सवा ११ बजे उनलाइ नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।
सोमबार उपचारकै क्रममा उनको स्वाब संकलन गरी जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६२ पुगेको छ र साउन यता मात्रै ५८ जनाको मृत्यु भएको हो ।
वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ६२ जना मध्ये २ बेवारिसे पुरुष सहित पर्साका ४३ जना, बाराका १४ जना , रौतहटका ४ जना र सर्लाहीका १ जना रहेका छन् ।