
पोखरा – त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा देशमै पहिलोपटक चट्टान तथा सुरुङ (रक एण्ड टनेल) इञ्जिनियरिङको पढाइ सुरु भएको छ ।
सुरुङ इञ्जिनियरिङका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशभित्रै उत्पादनको लक्ष्यसहित स्नातकोत्तर तहमा यस वर्षबाट सो कार्यक्रमको पढाइ सुरु गरिएको हो ।
सिभिल इञ्जििनियरिङमा स्नातक पास भई इञ्जिनियरिङ अध्ययन संस्थानले लिएको प्रवेश परीक्षामा उत्तीर्ण १०० मध्यबाट ‘मेरिट लिष्ट’का आधारमा सिट क्षमताअनुसार पहिलो वर्ष तीन महिलासहित २० जना विद्यार्थी छनोट गरी अध्यापन सुरु गरिएको क्याम्पस प्रमुख इञ्जििनियर रामप्रसाद पौडेलले बताए ।
उनका अनुसार कोरोना जोखिमका कारण हाललाई सोमबारदेखि भर्चुअल विधिबाट अध्ययन/अध्यापन सुरु गरिएको छ । सो कार्यक्रम दुई वर्षे कोर्षको हुनेछ । यसअघि गत वैशाख १५ गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी रहे पनि बन्दाबन्दीका कारण ढिलाइ भएको क्याम्पस प्रशासनले जनाएको छ । अगामी असोज, कात्तिक र मङ्सिरमा सैद्धान्तिक कक्षा सञ्चालनपछि प्रयोगात्मक कक्षा सुरु हुनेछ ।
पहाडी भूगोल भएको देशमा तीव्र पूर्वाधार विकासका लागि सुरुङ निर्माणको विकल्प नभएको र सोका लागि आवश्यक जनशक्ति देशभित्रै उत्पादन गरेर मात्र पूर्वाधार निर्माण अघि बढाउन सहज हुने भएकाले मागका आधारमा सुरुङ इञ्जिनियरको अध्यापन गरिएको क्याम्पस प्रमुख पौडेलले जानकारी दिए ।
सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाका लागि क्याम्पसले हाल विदेशमा रहेका नेपाली विषय विज्ञलाई नै आमन्त्रण गर्ने योजना बनाएको छ । विदेशमा रहेका नेपाली विज्ञले समेत अध्यापनका लागि आउने प्रतिबद्धता जनाएको क्याम्पसले जनाएको छ।
काठमाडौँ विश्वविद्यालयपछि पोखरामा यस विषयको पढाइ सुरु भएको हो । जिइयो म्याट्रिक्समा स्नातक विसं २०६९ बाट सुरु भएकोमा अहिले स्नातकोत्तरको समेत अध्यापन सुरु गरिएको सहायक क्याम्पस प्रमुख सुनिल दाहालले बताए । यस कार्यक्रममा १६ जना विद्यार्थी छन् ।