
मकवानपुर- मकवानपुरमा कोरोनासहित छुट्टाछुट्टै घटनामा एकैदिन पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोरोनाबाट एक, खोलाले बगाउँदा तीन र रेविज रोगबाट एक गरी पाँच जनाको मृत्यु भएको हो ।
कोरोनाबाट हेटौंडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत उनको उपचारको क्रममा शनिबार राति मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभयो । भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्याका कारण अस्पताल भर्ना भएका उनको भदौ ९ गते कोरोना पुष्टि भएको थियो ।
मकवानपुरको उत्तर क्षेत्रमा रहेको कैलाश गाउँपालिका वडा नम्बर ५ र १ को सिमानामा पर्ने विमिरे खोलाले बगाउँदा स्थानीय ३८ वर्षको धावा स्याङ्तानको मृत्यु भएको हो । स्याङतान ५ नम्बर वडा कार्यालय गोगनेबाट घर फर्कने क्रममा खोला तर्न खोज्दा खोलाले बगाएर मृत्यु भएको कैलाश गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङले बताउनुभयो । चौकिटार खोलाले बगाएर स्याङ्तानलाई विमिरे खोलासम्म पुर्याएको थियो ।
यस्तै भीमफेदी गाउँपालिको वडा नम्बर १ स्थित त्रिखण्डी मन्दिर नजिक राप्ती खोलाले बगाउँदा १८ वर्षीया युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज घर भई हेटौंडा बस्ने १८ वर्षीया प्रियका सोनी रहेकी छिन् । शनिबार दिउँसो साथीहरुसँग घुम्न गएकी उनलाई सेल्फि खिच्ने क्रममा चिप्लेर खोलामा खसेपछि बगाएको थियो । मृतक सोनीको शव त्रिखण्डी मन्दिरभन्दा ८ सय मिटर तल खोप्लाङको पुल मुनि भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
यसैगरी हेटौंडा–१९ मा पर्ने ज्यामिरे खोलामा महिलाको शव फेला परेको छ । आन्दाजी ४०/४५ वर्षीया एक महिलाको शव खोलामा फेला परेको हो । मृतक महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० न्युरेनी निवासी शान्तबहादुर मार्गनको रेबिज रोगका कारण मृत्यु भएको छ । मार्गनलाई काठमाडौंको टेकु अस्पतालले उपचार नहुने भनेपछि शुक्रबार घर ल्याइएको थियो । उनको शनिबार बिहान आफ्नै घरमा मृत्यु भएको हो । ६२ वर्षीय मार्गनलाई गत बैशाखमा कुकुरले टोकेको बताइएको छ ।
एक साता अगाडि उहाँ उपचारका लागि हेटौंडा अस्पताल पुग्नुभएको थियो । हेटौंडा अस्पतालले भरतपुर अस्पतालमा रिफर गरेको थियो । भरतपुर अस्पतालले पनि उपचार गर्न नसकेर काठमाडौं टेकू अस्पतालमा पठाइएको थियो । स्थानीय सोमबहादुर लामाका अनुसार कुकुरले जसरी सास फेर्ने, ¥याल काड्ने र खाना नखाने जस्ता लक्षणहरु उनीमा देखिएको थियो ।
(जनता समाचारका लागि पुस्पराज अधिकारीले लेखेको समाचार साभार गरिएको।)