
मकवानपुरगढी – मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा अवस्थित ऐतिहासिक मकवानपुरगढी दरबार परिसरमा रास्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक बनाउन लागिएको छ ।
साथै सो स्थानमा तत्कालीन समयमा शाशन गरेका सेन वंशिय राजाहरुको स्मारक , आकर्षक गार्डेन , श्रब्यदृश्य हल लगायतका भौतिक संरचनाहरु बनाउन लागिएको गाउँपालिका अध्यक्ष बिदुर हुमागाँईले बताउनुभयो ।
गाउँपालिकाको चालू आर्थिक वर्षमा यस कार्यको लागि केही रकम विनियोजन गरिएको र अपुग रकमका लागि बाग्मती प्रदेश सरकार तथा संघीय सरकार सँग सहकार्य गरि निर्माण कार्य सम्पन्न गर्छौं , अध्यक्ष हुमागाँईले भन्नुभयो ।
कोभिड १९ का कारण निर्माण कार्यको शुरूवातमा केही ढिलाइ भएपनी अब भने दशैं लगत्तै निर्माण चरणको कार्य प्रारम्भ गरिने र यसै आर्थिक वर्षको अन्त्य सम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको अध्यक्ष हुमागाँँईले बताउनु भयो ।
२५८ वर्ष पहिला १८१९ माघ १० गते गोर्खाली सेनाले तत्कालीन मुगल बादसाह मिरकासिमको सेनालाई परास्त गरि विजयी गरेको सम्झनामा हरेक माघ १० गते विजय उत्सव मनाउने गरिएको छ ।
नेपाल सरकारले १०० पर्यटकिय स्थानको छ्नौट भित्र ऐतिहासिक मकवानपुरगढीलाई पनि समेटेको छ । पछिल्ला समय दरबार परिसर भित्र पर्यटक आकर्षक हुनेगरी विभिन्न भौतिक संरचनाहरु निर्माण भएको तथा बाह्य क्षेत्रमा पनि रमणीय संरचनाको निर्माणले अहिले ऐतिहासिक मकवानपुरगढीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड लाग्न थालेको छ ।