
मकवानपुरगढी – मकवानपुरगढीमा पशुहरुमा लाग्ने रोग लम्पी स्किन डिजिज रोग देखा परेको छ ।
मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर – २ , कुर्लेदमारमा फिल्ड अनुगमन गर्ने क्रममा एक किसानले पालेको गाईमा लम्पी स्किन डिजिज देखा परेको २ नम्बर वडाका पशु प्राविधिक रबिन्द्र हुमागाँईले बताउनु भयो ।
यस विषयमा मकवानपुरगढी गाउँपालिकाका पशु शाखा प्रमुख सत्यनारायण साहसँग कुरा गर्दा वडा नम्बर २ को कुर्लेदमारबाट प्राप्त सूचनाका आधारमा प्राविधिकहरुको टोलि त्यसतर्फ पठाइएको बताउनु भएको छ । टोलिमा वडा नम्बर २ र ३ का प्राविधिकहरु रबिन्द्र हुमागाँई र मदन दाहाल रहेका थिए ।
रोग लागेपछि गाईवस्तुका घाँटी, पुच्छर लगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खाहरू देखिने, मुखबाट फिँज धेरै निकाल्ने, उच्च ज्वरो, कचेरा र सिंगान बग्ने जस्ता लक्षणहरु देखा पर्ने जनाइएको छ ।
यो रोग केही समय अघि पुर्वी नेपालका विभिन्न जिल्ला तथा तराईका जिल्लाहरु लगायत छिमेकी जिल्ला चितवनमा पनि देखिएको थियो ।
छिमेकी भारत हुँदै यो रोग नेपालमा भित्रिएको पशु विज्ञले बताएका छन् । भारत र बंगलादेशमा पनि यो रोग देखिएकाले त्यतैबाट सरेर आएको हुन सक्ने अनुमान रहेको विज्ञहरूको भनाई रहेको छ । अफ्रिकाबाट मध्यपूर्व हुँदै यो रोग भारत र बंगलादेशमा सन् २०१९ मा पनि देखा परेको थियो ।

