
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) ले आफ्ना सांसदहरुको खातामा आएको दसैँ भत्ता वापतको रकम फिर्ता गर्ने भएको छ ।
कोरोनाका कारण मुलुक नै आर्थिक संकट परेका बेला सांसदहरूले दसैँ खर्च लिएको समाचार आएपछि सांसदहरुको चौतर्फी आलोचना भएको थियो । यस्तो आलोचना बढेसँगै नेकपा संसदीय दलले त्यसबारेमा पार्टी नेतृत्वसँग छलफल गरेर चाँडै निर्णय गर्ने तयारी गरेको छ ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वागले पार्टी नेतृत्वसँग यसबारे छलफल भइरहेको भन्दै संसदीय दलले यसबारे चाँडै निर्णय गर्ने जानकारी दिए । उनले दसैँ भत्ता फिर्ता गर्ने विषयमा शीर्ष नेताहरुसँग छलफल भइरहेको भन्दै चाँडै टुंगोमा पुुग्ने पनि बताए ।
आलोचना बढेपछि कतिपय सांसदहरुले व्यक्तिगत रुपमै भत्ता फिर्ता गरेको घोषणा गरेका छन् । तर, यसरी व्यक्तिगत निर्णय गरेर सांसदहरुले ‘सेलिब्रेटी’ बन्ने काम गरेको भन्दै पार्टीभित्र आलोचना पनि भएको छ ।
‘यस्ता कतिपय कुराहरु संस्थागत रुपमा निर्णय गर्नुपर्ने हुन्छ र त्यो काममा सबैको ध्यान गइसकेको छ । तर कोहीकोही सांसदले सेलिब्रेटी जस्तो आ–आफै घोषणा गरेका छन् । त्यो राम्रो होइन,’ एकजना नेकपाका नेताले भने, ‘पार्टी संसदीय दललेनै संस्थागत निर्णय गर्ने तयारी गरिरहेको छ ।यस्तो राम्रो काम त निर्णय गरेर गर्न सकिने कुरा हो । आफै आफै जान्ने हुनुु राम्रो होइन ।’
मन्त्रिपरिषद्ले २०७६ भदौ ३१ मा मन्त्रीदेखि सांसदसम्मलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउने निर्णयअनुसार संसद सचिवालयले यो वर्षको भत्ता सांसदहरुको खातामा पठाएको थियो । (रातोपाटिबाट)