
मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नं ५ मा रहेको रुद्रेश्वर मन्दिर पर्यटकीय क्षेत्र परिसरमा विन्दवासिनी माई मन्दिरको निर्माण भएको छ ।
तिमल्सिना समाज मकवानपुरको अग्रसरतामा मन्दिरको निर्माण गरिएको हो । मुर्ति स्थापना सहित मन्दिर निर्माणको कुल लागत ६ लाख ७० हजार रहेको मन्दिर निर्माण उपसमितिका संयोजक तोयानाथ तिमल्सिनाले बताउनुभयो । मन्दिर निर्माणका लागि हेटौंडा उपमहानगरपालिकाबाट रु. ३ लाख उपलब्ध भएको र अपुग रकम तिमल्सिना समाज मकवानपुरका सदस्यहरु तथा अन्य सहयोगीदाताहरुबाट संकलन गरिएको संयोजक तिमल्सिनाले बताउनुभयो । ५ हजार रुपैयाँ भन्दा माथि सहयोग गर्नेहरुको सिलालेखमा नाम उल्लेख गरिने पनि उहाँले बताउनु भएको छ ।



मौत्गल्य गोत्र भएकाहरुले कुल देवताका रुपमा विन्दवासिनी माईको पुजा गर्ने गरेको र त्यसै क्रममा मकवानपुर जिल्लामा बसोबास गरिरहेका तिमल्सिना बन्धुहरुले आज सो नवनिर्मित मन्दिरमा कुल देवताको पुजा-आजा गरेका छन् ।
मन्दिर निर्माणका लागि सो पर्यटकीय क्षेत्रमा पिप्ले-पोखरा सामुदायिक वन उपभोक्ता समूहले करिब २ कठ्ठा जमिन उपलब्ध गराएको तिमल्सिना समाज मकवानपुरका अध्यक्ष टीका प्रसाद तिमल्सिनाले बताउनुभयो ।
