
मकवानपुरगढी- सहिद क. रुद्र पाख्रीनको १८ औं स्मृती दिवसको उपलक्ष्यमा यहि पौष २८ गते (भोलि) मकवानपुरगढी-४ को रुद्र बाटिकामा पालिका भरिका माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ ।
जस अन्तर्गत मकवानपुरगढी गाउँपालिकामा रहेका ८ वटा माध्यमिक विद्यालयहरुबाट १६ जना प्रतियोगीहरु सहभागी हुने सहिद क. रुद्रपाख्रीन स्मृति पार्कका अध्यक्ष मानकुमारी नेपाली (पाख्रीन) ले बताउनु भयो । कार्यक्रम बिहान ११ बजे शुरु हुनेछ ।
तत्कालीन अवस्थामा माओवादीले गरेको जनयुद्धको क्रममा पाख्रीन २०५९ साल पौष २८ गते तत्कालिन छतिवन गाविस को गरगरे भन्ने ठाउँमा सेनाबाट मारिएका थिए ।
२०१९ साल साउन २७ गते मकवानपुर को गोगने भन्ने ठाउँमा जन्मिएका पाख्रीन तत्कालीन मकवानपुरगढी गाविस वडा नं ८ कालिखोलाका स्थायी वासिन्दा हुनुहुन्थ्यो ।
सहादत हुने बेला मकवानपुर ,बारा र पर्सा गरि ३ जिल्लाको इन्चार्ज रहनुभएको थियो । सरल अनि मिजासिलो स्वभाव भएका पाख्रीन जनस्तरमा निकै लोकप्रिय नेताको रुपमा चिनिनु भएको थियो ।