


हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनताले आभाष हुने गरि प्रदेश सरकारले कार्य गरिरहेको बताउनुभएको छ ।
शुन्य अवस्थाबाट प्रदेश सरकार गठन भएको तीन वर्ष पुग्दै गर्दा प्रदेश सरकारले गरेका कामहरु देखिन थालेको उहाले बताउदै फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गरिने बताउनुभयो ।
बागमती प्रदेशको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले केहि अन्यौलता र तिव्र ध्रुवीकरणबीच सदनमा उपस्थित भइरहँदा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमहरुको सन्दर्भमा आआफ्नै खाले बुझाई एवं दृष्टिकोण रहेको उल्लेख गर्नुभयो । पौडेलले एकातिर जनताको असिम अपेक्षा, अर्कोतिर आफ्नै राजनीतिक, प्रशासनिक, ऐन कानून एवं स्रोत र साधनको सिमितताको बीचमा प्रदेश सरकार अघि बढेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री पौडेलले शुन्य अवस्थाबाट प्रदेश सरकार गठन भएको तिन वर्ष पुग्दै गर्दा प्रदेश सरकारले गरेका कामहरु देखिन थालेको बताउनुभयो ।
उहाँले सबैले ईमान्दारीपूर्वक लागि पर्दै गर्दा सकारात्मक परिणामहरु पनि आएको बताउनुभयो । “त्यसो त कतिपय माननीय सदस्यहरुले देखिन थालेका परिवर्तनहरु प्रति संशय ब्यक्त गर्नुभएको छ । अपेक्षा र यथार्थताको वीचको फरकपनालाई हामी कसरी हेर्दछौं, कसरी बुझ्दछौं । त्यो हाम्रो दृष्टिकोणको सन्दर्भसंग जोडिएको हुन सक्दछन् । हाम्रो राजनीतिक मुल्यका प्रश्नहरुसंग गाँसिएका पनि हुनसक्दछन्” पौडेलले भन्नुभयो ।
“यतिबेला हामी विषम् परिस्थितिमा छौं । एकातिर जनताबाट पाँच वर्ष सरकार चलाउने अख्तियारी सहित निर्वाचित संसद सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरी निर्वाचनको मिति घोषणा गर्नुभएको छ । अर्कोतर्फ संसद विघटनलाई असंवैधानिक भन्दै खारेजीको मागसहित दायर मुद्धाको विषयमा अदालतमा सुनुवाई चलिरहेको छ । जनताबाट निर्वाचित प्रधानमन्त्रीले सार्वभौम संसदलाई सरकार बनाउने र गिराउने गलत अभ्यास र प्रयोगको थलो बन्न दिनुहुन्न, बरु निर्वाचन मार्फत ताजा जनादेश जान्छु भन्नु संवैधानिक हो वा होईन ? लोकतान्त्रिक हुन्छ वा हुँदैन ? कार्यपालिकालाई हातखुट्टा बाँधेर पाईला पाईलामा अवरोध हुन थाले पश्चात सम्माननीय प्रधानमन्त्रीले जनताको वीचमा फर्किने निर्णय गर्नु सहि हुन्छ वा हुँदैन ? निश्चय नै अदालतमा प्रवेश गरिसकेको यस विषयको निरुपण होला नै । जेहोस् केहि अन्यौलता र तिव्र ध्रुवीकरणवीच यस गरिमामय सदनमा उपस्थित भइरहँदा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमहरुको सन्दर्भमा हाम्रो आआफ्नै खाले बुझाई एवम् दृष्टिकोण छ । स्वभाविकरुपमा यसको प्रतिबिम्ब यहाँ पनि देखिन्छ नै । त्यसो त प्रदेश सरकारको विषयमा समेत यतिबेला अनेकन विषयहरु बाहिर आएका छन्” पौडेलले भन्नुभयो ।
