
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री महेश बस्नेतले साईबर सेना हतियार वोक्ने सेना नभएर क्रान्तिकारी योद्धाहरुलाई स्याल बनाएर रजाँई गर्ने प्रचण्ड प्रवृत्तिलाई तह लगाउने बौद्धिक तथा प्राविधिक सेना भएको बताएका छन ।
राष्ट्रिय युवा संघ नेपाल पाल्पा तथा नेकपा तानसेन नगरकमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले लोकतन्त्र मान्नेले जनातामा जान नमान्नुको कारण के हो ? भनि प्रश्न गर्दै प्रचण्ड मान्छे काट्ने अभियानबाट अब कुरा काट्ने अभियानमा रहेको स्पष्ट पारे ।
विकसित सूचना प्रविधिको प्रयोग युवाहरुले गरिरहेको उल्लेख गर्दै नेता बस्नेतले साइवर सेना कुनै स्याल नभई मुलुक र परिस्थिती अनुसारको सिंह भएको बताए । “युवाहरु साइवर स्याल हैन, साईवर सिंह हुन् ।’ उनले भने ।
स्यालको नयाँ नेता घनश्याम भुषाललाई साइवर सेनाले आफ्नो पुरानो घर फर्काउने समेत बताए । नेता भुषालले एक सार्वजनिक कार्यक्रममा पछिल्लो समय साइसर सेनाको रुपमा सक्रिय रहेका युवाहरुलाई स्यालको रुपमा तुलना गरेका थिए। सोही प्रशंगलाई लक्षित गर्दै नेता बस्नेतले साइवर सेना स्याल नभई सिंहको रुपमा रहेको बताए ।
उनले मुलुक र जनताको विरुद्धमा महाअपराधीहरुलाई जेल हाल्ने कार्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण भूमिका खेल्ने दावी गरे ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारले वालुवाटार, वाईडबडी, लडाकु सेना समायोजनलगायतका मुलुकको हित विपरित भएका ठूला ठूला भ्रष्टाचारका काण्डहरुको छानविन गरि कारवाहीको प्रकृया अगाडी बढाइरहेको उल्लेख गर्दै उक्त काण्डका नेतृत्वहरु अब अध्यारो कोठाको यात्रा तय हुने समेत उनले चेतावनी दिए ।
विकास र समृद्धिको यात्रामा प्रधानमन्त्री ओलीले आम नेपालीको भावना अनुसार नेतृत्व गरिरहनुभएको उल्लेख गर्दै नेता बस्नेतले नेपाली इतिहासमा पृथ्वी नारायण शाह तथा नेकपामा पुष्पलाल, मदन भण्डारी पछि केपी ओलीको ऐतिहासिक व्यक्तिको रुपमा स्थापीत राजनेता हुनुभएको दावी गरे। नेपाली राष्ट्रियता र स्वाभिमान कुनै भन्दा सानो नभएको स्पष्ट पार्दै नेता बस्नेतले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नै गुमेको भूमि फिर्ता ल्याउने प्रकृया अगाडी बढाएको समेत बताए ।