
मकवानपुर- नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली माघ १७ गते चितवन आउने भएका छन् । आज (आइतबार) भरतपुरमा नेकपा (ओली पक्ष) द्वारा आयोजित पत्रकार सम्मेलन मार्फत जनसभाको बारेमा जानकारी दिइएको छ ।
भरतपुरको केन्द्रिय बसटर्मिनलमा हुने बृहत जनसभालाई सम्बोधन गर्न ओली चितवन आउन लागेका हुन । चितवनका विभिन्न पालिकाबाट ५० हजार जनता सहभागी गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
सभालाई सम्बोधन गर्नुअघि ओलीले भरतपुरमा बन्न लागेको सिटी हल र गोन्द्रङ–पुल्चोक सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेकपा केन्द्रिय सदस्य तथा सांसद दिलकुमारी रावल ‘पार्वती’ले पछिल्लो राजनीतिक घटनक्रमबारे प्रधानमन्त्री ओलीले आमसभामा सम्बोधन गर्ने बताइन । कार्यक्रम दिउँसो १२ बजेका लागि तय गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै उनले संघिय मन्त्रालयको कार्यक्रम अनुसार प्रधानमन्त्री ओलीले सिटी हल र सडक विस्तारको शिलान्यास गर्न लागेको बताइन् ।
संघीय सरकारको बजेटमा सघन सहरी विकास आयोजना अन्तरगत सिटी हल बन्न लागेको हो भने भौतिक योजना मन्त्रालय अन्तरगत पुल्चोक–गोन्द्रङ सडक विस्तार हुन लागेको रावलले बताएकी छन् । केन्द्रिय सरकारबाट विनियोजन भएका आयोजनाको शिलान्यास प्रधानमन्त्रीले गर्नुलाई अन्यथा लिन आवस्यक नरहेको र तीन वटै सरकारसँग समन्वयन गरेर सरकार अघि बढीरहेको बताउँदै उनले यसलाई कसैको प्रतिष्ठाको विषय बनाउन आवश्यक नरहेको बताएकी छन् ।