
हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूले जीवनमा हार्ने र फेल हुने कुरा नजानेकोले अविस्वासको प्रस्ताबमा पनि आफु फेल नहुने दावी गर्नुभएको छ ।
बागमती प्रदेश सभाको तेस्रो बार्षिक उत्सवको अवसरमा बोल्नुहुदै मुख्यमन्त्री पौडेलले अहिले सम्म जीवनमा हार भन्ने कुरा आफूले नबेहोरेकोले अविश्वास प्रस्ताबलाई फेस गरेर जाने बताउनुभयो ।
“लोकतन्त्रमा अविश्वासको प्रस्ताव आउनु स्वभाविक हो ।” मुख्यमन्त्री पौडेलले भन्नुभयो । अन्य प्रदेशको तुलनामा बागमती प्रदेशमा सबैभन्दा धेरै विधेयक पारित भएको बताउनुहुदै पौडेलले लोकसेवा आयोग गठन गरेर काम सुरु गरिएको र सुशासनप्रति आफूहरु सचेत रहेको बताउनुभयो । उहाँले पछिल्लो एक वर्षमा प्रदेशसभाभित्र धेरै राम्रा काम भएको समेत बाताउनुभयो ।
सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईको प्रमुख आतिथ्यता थियो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख प्रसाईले समृृद्धि प्राप्तीका लागि सबेको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले प्रदेश सरकारले जनतालाई केन्द्रमा राखेर जनताप्रति भरोसा दिलाउने विकासका पूर्वाधार र आर्थिक समृद्धि ल्याउने कार्यमा सबै दलहरुसँग सहकार्य गरेर अघि बढ्नु आबश्यक रहेको बताउनुभयो ।
बागमती प्रदेश सभाले हालसम्म ५९ वटा ऐन बनाएको छ । तीमध्य १३ वटा संसोधन बिद्येयकले ऐनको रुप लिएका छन्। तीनबर्षमा एकसय ७६ पटक प्रदेश सभाको बैठक बसेको प्रदेश सभा सचिवालयले जनाएको छ ।