
नेपाली मूलकी १२ वर्षीया बालिकाको भारतको बिहार राज्यमा सामुहिक बलात्कारपछि हत्या गरी जबरजस्ती जलाइएको घटना बाहिरिएको छ ।
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका घर भई बिहारको पूर्व चम्पारण जिल्लामा परिवारका साथ बस्दै आएकी ती बालिकालाई घर मालिकसहित ११ जनाले सामुहिक बलात्कारपछि हत्या गरी जबरजस्ती जलाएका हुन् ।
नेपाल बारबर्दिया नगरपालिकाका सुरेश (नाम परिवर्तन) गत वर्षयता मोतिहारीस्थित कुन्डवा चैनपुरमा मजदूरी गर्दै आएका थिए । उनका अनुसार यो घटना २१ जनवरीको हो । त्यस बेला उनकी पत्नी नेपालस्थित आफ्नो गाउँ गएकी थिइन् । सुरेशचाहिँ काममा निस्केका थिए । छोरा कुनै कामले बजारमा थिए ।
पूर्व चम्पारणको सिकहना, अनुमण्डल पदाधिकारी समक्ष सरेशको तर्फबाट दिइएको निवेदनमा उल्लेख छ, ‘साँझ ४ बजेतिर जब मेरो छोरा बजारबाट आउँदै थियो, हाम्रो घरमालिक सियाराम साहले घरभित्र नछिर्न उसलाई रोक्यो । तर, मेरो छोरा उसको कुरा नसुनेझैं गरी घर पुगेर हेर्दा उसकी बहिनी भुइँमा ढलेकी थिई । यो देखेर उसले मलाई बोलायो । मैले घर पुगेर हेर्दा मेरी छोरी भुइँमै लडिरहेकी थिई । उसको घाँटीमा रातो निशान थियो । उपचार गराउनका लागि मैले उसलाई स्थानीय चिकित्सक भए ठाउँ लगेँ । तर, कसैले उपचार गरिदिएनन् ।’
सुरेशका अनुसार यसपछि केही मानिस (अभियुक्त) त्यहाँ जम्मा भए । र, लास जलाउन दबाब दिन थाले । निवेदनमा भनिएको छ, ‘देवेन्द्रकुमार साहले लास छिटोभन्दा छिटो जलाउन दबाबसँगै धम्की पनि दियो– लास छिटो नजलाए तँ र तेरो छोरालाई मारेर नेपालमा फ्याँकिदिन्छौँ । यसपछि एक साधा कागजमा समेत औंठा छाप लिए । र, रातको १२ बजे बलपूर्वक पोखर रोडको किनारामा नुन र चिनी हालेर लास जलाइदिए । बिहानै मलाई उनीहरूले नेपालतिर खेदाए ।
घटनाको १२ दिनपछि एफआईआर
२१ जनवरीमा भएको घटनाको निवेदन २ फेब्रुअरीमा दर्ता गराइएको छ । कुन्डवा चैनपुरमा संख्या २१–२१ दिनाङ्क ०२.०२.२०२१ भारतीय दण्ड संहिताको धारा १४९र३४२र४५०र३७६ (डी, बी), १२० (बी) ३०२–२०१ अनुसार मुद्दा दर्ता गरिएको छ ।
११ जनालाई अभियुक्त बनाइएको छ, जसमा चार अभियुक्त विनय साह, दीपककुमार साह, रमेश साह, देवेन्द्रकुमार साहमाथि सामूहिक दृष्कर्म र हत्याको आरोप छ । घरमालिक सियाराम साहसहित अन्य सात जनामाथि लासलाई जबरजजस्ती जलाएर प्रमाण मेटाएको आरोप लगाइएको छ ।
घटनामा एफआईआर दर्ता भएपछि, गत ५ फेब्रुअरीमा एक अडियो भाइरल भयो, जसमा २१ जनवरीमा कुन्डवा चैनपुरका थानाध्यक्ष सञ्जीवकुमार रञ्जन र अभियुक्त रमेश साहबीचको कुराकानी छ । यो कुराकानीमा थानाध्यक्ष सञ्जीवकुमार,अभियुक्त रमेश राहसँग भनिरहेका छन्, ‘दाउराको व्यवस्था गर्नू र लेख्न लगाउनू– केटी चिसोले मरी ।’
एसपी नवीनचन्द्र झाले दुवै अभियुक्त पक्राउ परेका बताए । अन्य अभियुक्तलाई पक्राउ गर्न अनुमण्डल प्रहरी पदाधिकारी, सिकहरनाको नेतृत्वमा एसआईटी गठन गरिएको उनले जानकारी दिए ।
इन्डियामा सबै मानिस यस्तै छन् ?
यस घटनामा बीबीसीको संवाद पीडित परिवारजनसँग हुन सकेन । तर, पीडितका बुवा सुरेश, आमा, भाइ र पीडित बालिकाकी भिनाजुसँग स्थानीय सामाजिक कार्यकर्ता पुष्पा किशोरले भिडियो कलमा कुराकानी गरेकी छन् । यो भिडियोमा पीडितका परिवारजन भनिरहेका छन्, ‘के इन्डियामा सबै मानिस यस्तै खालका छन् ? सबै पुलिस यस्तै छन् ? हामीलाई न्याय चाहियो । उनीहरूले जबरजस्ती हाम्री छोरीलाई जलाइदिए ।’
स्पष्ट छ, यो घटनामा पीडितको पोस्टमार्टम भएको थिएन । यस्तोमा महत्वपूर्ण प्रमाण समेत लाससँगै मेटियो । पुष्पा किशोर बीबीसीसित भन्छन्, ‘केटीकी आमा ३१ जनवरीमा मेरो मोतिहारीस्थित घर आएकी थिइन् । आफूलाई न्याय दिलाइदिन भन्दै उनी छाती पिटीपिटी रोइन् ।’
सन् २००५ देखि नीतिश सरकारमा चौथो पटक सत्तासीन भएपछि राज्यमा पहिलो महिला उपमुख्यमन्त्री रेणु देवी छिन् । तर, यो एक स्वर्णिम ऐतिहासिक तथ्यले राज्यमा महिलाहरूमाथि बढ्दो बर्बर हिंसामा लगाम लगाउन सकेको देखिँदैन । (बीबीसी हिन्दीबाट )