
रिपेश दाहाल / रामेछाप
“यो घर हामीलाई नै देको हो र ?, मलाई त सपना जस्तै लागेको छ ! ” रामेछापको खाँडादेवी स्थित सुनकोशी नदी किनारमा लहरै बनाइएका राता घरहरुको नवनिर्मित माझीबस्तीको एकघरको आगनमा बस्नुभएकी २३ वर्षीय कान्छी माझी पक्कीघरमा बस्न पाउने कुराले हर्षविभोर हुनुहुन्थ्यो । आफ्नो एक वर्षीय छोरालाई काखमा लिनुभएकी कान्छीलाई छोरा भाग्यमनी भएकोले राम्रो घरमा बस्न पाएको होकी जस्तो पनि लागेको छ । पहिला सानो सेउले घरमा बस्दै आएको उहाँको परिवारले वाग्मती प्रदेश सरकार र गाउँपालिकाले निर्माण गरिदिएको दुईकोठा, स्नानघर, शौचालयसहितको पक्कीघर पाएको छ । उहाँ जस्तै सोम बहादुर माझी पनि घर पाएकोमा धेरै खुशी देखिहुन्थ्यो । “सरकारलाई धन्यवाद, पहिला हामी अव्यवस्थित रुपमा बस्थ्यौं । जग्गा जमिन पनि थिएन । डुङ्गा चलाउने पुख्र्यौली पेसा पनि पुलहरु बनेदेखिनै लोप भएको थियो । खोलामा माछा पाउन छाडेकाले माछामार्ने व्यवसायले पनि गुजारा चल्दैन थियो । घर बनाउने बारेमा त सोच्नसक्ने अवस्थै थिएन । सरकारले घर बनाइदियो । अब, होम स्टे सञ्चालन गर्न सघाउने भनेको छ । हामी पनि मिहिनेत गर्छौ, घुम्न आउनेहरुलाई डुङ्गामा सुनकोसी घुमाउछौं, माछाका परिकार खुवाउछौं, लहरे आँपको जुस खुवाउँछौँ” उहाँले भन्नुभयो ।
खाँडादेवी गाउँपालिकासँगको सहलगानीमा वाग्मती प्रदेश सरकारले निर्माण गरेको माझी बस्ती रामेछाप जिल्लामा परेपनि विपि मार्गको सिन्धुलीमाडी र धुलिखेलको समदुरीमा पर्छ । धुलिखेल वा सिन्धुलीको माडी बजारबाट बढीमा एकघण्टा ३० मिनेटको मोटर यात्रामा पुगिने मूल्कोटबाट सुनकोशी नदीमा रहेको झोलुङ्गे पुल तरेपछि ५ मिनेटको पैदल यात्रामा पुगिने माझी बस्तीमा प्रस्तावित मध्यपहाडी लोकमार्गको निर्माणाधीन बाटो भएर हरेक प्रकारका मोटरहरु पु¥याउन सकिन्छ ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बस्तीमा रहेका माझी समुदायको आयस्तर वृद्धि हुनेखालका कार्यक्रम तत्काल लागू गरिने बताउनुभयो । शनिबार माझी बस्तीको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले गरिबी निवारण, विकास र समृद्धि प्रदेश सरकारको मुख्य ध्येय रहेको धारणा राख्नुभयो । माझी समुदायको कला, संस्कृति र परम्परागत पेसाको संरक्षण र प्रवद्र्धन गर्न सके पर्यटन आकर्षित गर्न सकिने उहाँको भनाई थियो । पौडेलले प्रदेश सरकारले घर विहीन हरेक नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–३ डफ्काको माझी गाउँमा वाग्मती प्रदेशको भूमि व्यवस्था, कृिष तथा सहकारी मन्त्रालय र खाँडादेवी गाउँपालिकाको संयुक्त लगानीमा एकीकृत नमुना बस्ती तयार भएको हो । एकीकृत बस्तीमा ४२ वटा घर, सामुदायिक भवन, खेलमैदान लगायतका संरचनाहरु तयार भएको मन्त्रालयले जनाएको छ । वाग्मती प्रदेश सरकारको रु १ करोड ५० लाख र गाउँपालिकाको रु ७५ लाख गरी जम्मा रु २ करोड २५ लाखको लागतमा बस्ती निर्माण भएको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलका साथै वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा लगायतकाको सहभागिता रहेकोथियो ।
एकीकृत बस्तीमा ४२ वटा दुई कोठे घर र शौचालय छन् । त्यस्तै सामुदायिक भवन, खेल मैदान लगायतका संरचना पनि निर्माण गरिएको छ । स्थानीय माझी समुदायको २६ रोपनी जमिनमा बस्ती बनेको हो । बस्तीलाई होम स्टेको रुपमा विकास गरी सुनकोसी नदीमा डुंगा तथा ¥याफ्टिङ समेत सञ्चालन गरेर पर्यटकलाई आकर्षित गर्ने योजना रहेको खाँडादेवी गाउँपालिका ३ का वडाध्यक्ष पुष्कर कार्कीले जानकारी दिनुभयो । बिपीराजमार्गबाट सुनकोशी नदीको पारीपट्टी नदीकिनारमा निर्माण गरिएको बस्ती निर्माणाधीन मध्यपहाडी मार्गसँग समेत जोडिएको छ । माझीबस्ती माझी संस्कृतिको जानकारी स्थल तथा पर्यटन केन्द्र बन्नसक्ने अपेक्षा गरिएको छ ।
प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत मुसहरसहित अतिसिमान्तकृत जाति समुदायहरुका लागि एकीकृत बस्ती निर्माण गर्नेकार्यलाई निरन्तरता दिदै आएको छ भने कृषि मन्त्रालयले पनि कृषि पर्यटन प्रवद्र्धन गर्न र माझी समुदायको आयस्तर माथि उठाउन माझी बस्ती निर्माण गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले जानकारी दिनुभयोे ।
रामेछापको एकीकृत माझी बस्ती बाहेक प्रदेश सरकारले दोलखाको भीमेश्वर ४ मा जिलु एकीकृत बस्ती विकास कार्यक्रमका लागि दुई करोड, मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ र १२ का लागि रु. २ करोड ५० लाख, सिन्धुपाल्चोकको इन्द्रावती ५ मा प्युघर भदौरे एकीकृत माझी बस्ती विकासका लागि रु. एक करोड, सिन्धुपाल्चोककै हेलम्बुमा नोर्वुलिङ एकीकृत माझी बस्ती विकास कार्यक्रमका लागि रु. ३० लाख, सिन्धुपाल्चोककै चौतारा, साँगाचोक गढीमा झ्याडी एकीकृत नमूना माझी बस्ती विकास कार्यक्रमका लागि रु. ४० लाख, धादिङ एकीकृत बस्ती विकास कार्यक्रमका लागि रु. ४५ लाख बजेट विनियोजन गरेर काम गररहेको जनाइएको छ ।
प्रदेश सरकारले सिन्धुलीको दुधौलीमा अतिसीमान्तकृत जाति मुसहर समुदायका लागि ३ सय ५५ वटा घरसहितको एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।
