
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे पटक पटक दिएको बिबादास्पद अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाले नेत्री झाँक्रीलाई बिबादास्पद अभिव्यक्ति बारे सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । झाक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको बिबादस्पद अभिव्यक्तिलाई लिएर अखिल नेपाल महिला संघले उनलाई कारबाही गर्न माग गरेको थियो ।
झाँक्रीको पक्राउको विरोधमा उनको निवासबाहिर नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ताहरु भेला भइ पक्राउ बिरुद्द नाराबाजी समेत गरेका थिए।
महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्री बिरुद्द पक्राउ पूर्जी समेत जारी गरेको थियो।