
काठमाडौं / राज्यविरुद्ध कसुर गरेको आरोप लगाएर प्रचण्ड–माधव पक्षीय नेपाल कम्युनिष्ट पार्टीकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले बिहीबार निवासमै गएर पक्राउ गर्यो । धेरैको आशंका थियो, उनलाई मुद्दा हालेर लामै समय जेल कोच्ने तयारी हुन सक्छ ।
यही आशंकाले घेरिएका प्रचण्ड–नेपाल समूहका कार्यकर्ता आन्दोलित बने । अनेरास्ववियूले झाँक्रीलाई रिहा नगरे नेपाल बन्द गर्ने चेतावनी दिँदै विज्ञप्ति निकाल्यो । नेताहरुले भाषण गर्दै सरकारको आलोचना गर्यो । तर, सबैको पूर्वानुमान विपरित प्रहरीले आजै बेलुकी रामकुमारीलाई सामान्य बयान लिएर छाडिदिएको छ ।
प्रहरीले उनीमाथि लगाएको आरोप संगीन थियो । मुलुकी अपराध संहिताको दफा ५८ अनुसार लगाइएको उक्त कसुर प्रमाणित भएको खण्डमा झाँक्रीलाई ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुन सक्थ्यो । तर प्रहरीले उनीमाथि कुनै पनि अभियोग नलाई साँझ करिब ६ घण्टापछि झाँक्रीलाई छोडिदियो । यसो गर्दा न उनको गिरफ्तारीको औचित्य सावित भयो, न रिहाइको ।
स्रोतका अनुसार झाँक्रीलाई पक्राउ गरिएकोमा राष्ट्रपति कार्यालयले समेत अशन्तुष्टि जनाएको थियो । प्रहरीले दिनभर हिरासतमा राखेर साँझ उनलाई श्रीमान पशुपति पुरीको जिम्मा लगाइदिएको थियो ।
प्रहरीले झाँक्रीलाई सोधपुछका क्रममा केही प्रश्न सोधेको थियो जसको लिखित जवाफ दिएर उनी रिहा भइन् ।
महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइराला भन्छन्, ‘सोधपुछका लागि ल्याएका थियौं, उहाँले हाम्रा केही प्रश्नको जवाफ दिनुभयो । त्यो जवाफ हेरेर उहाँको श्रीमानको जिम्मा लगाइयो ।’
राष्ट्रपतिप्रति आफ्नो सम्मान सधैं रहेको लिखित वयान दिएपछि रिहा भएको प्रहरीको भनाइ छ ।
झाँक्रीले प्रहरी समक्ष दिएको बयान उद्वृत गर्दै कोइराला भन्छन्, ‘संवैधानिक राष्ट्रप्रतिको संस्थाप्रतिको सम्मान हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहन्छ, कुनै व्यक्तिलाई लान्छित गरिएको होइन । मैले राजनीतिक कार्यक्रममा व्यक्त गरिएका विचार हुन् । कुनै संस्थाप्रति लक्षित थिएन । त्यो संस्थाप्रतिको मेरो सम्मान छँदैछ ।’
राजनीतिक ‘ह्यारेसमेन्ट’ भयो : झाँक्री
झाँक्री भने आफूले प्रतिनिधिसभा विघटनविरुद्ध चर्को आवाज उठाएकाले सरकारले राजनीतिक प्रतिशोध साँधेको दावी गर्छिन् ।
‘अपराध महाशाखामा सोधपुछका लागि भनेर ल्याइएको थियो, तर मेरो विरुद्ध कुनै जाहेरी दर्ता भएको थिएन,’ रिहा भएपछि संवाददाताहरूलाई प्रतिक्रिया दिँदै उनले भनिन्, ‘राजनीतिक प्रतिशोधको हिसाबले सरकारले प्रहरी प्रशासनमा दवाव बढाएर नियन्त्रणमा लिने काम गरेको रहेछ ।’
प्रतिगमनविरुद्धको आन्दोलनमा आफूले देशव्यापीरुपमा आफ्नो उपस्थिति देखाएको भएर सरकारले ‘ह्यारेसमेन्ट’ गर्न खोजेको उनको अनुमान छ ।
झाँक्री अपराध महाशाखा रहँदा प्रहरी र सरकारलाई भने निकै दवाव परेको थियो । राजनीतिक र नागरिक वृत्तबाट समेत पक्राउको निन्दा भइरहेको थियो । पक्राउको विरोधमा प्रचण्ड–माधवपक्षीय युवाहरूले बिहीबार दिउँसो माइतीघर मण्डला, नयाँ बानेश्वर लगायतका क्षेत्रमा प्रदर्शन गरेका थिए । ( नेपाल प्रेसबाट )

