
सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले अवकाश सुविधा लिन ६० वर्ष कुर्नुनपर्ने भएको छ । कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ संशोधन गर्दै श्रमिक जागिरबाट अलग भएको अवस्थामा कोषमा जम्मा भएको एकमुष्ट रकम निकाल्न पाउने व्यवस्था गरेको हो । त्यस्तै, जागिरमा नै हुँदाको अवस्थामा कोषमा जम्मा भएको रकममध्ये ८० प्रतिशतसम्म विशेष सापटी लिन पाउने व्यवस्था गरेको छ ।


कोषमा विभिन्न खालका चारवटा सुविधाको योजना छ । त्यसमध्ये वृद्धावस्था सुरक्षा योजनामा धेरै श्रमिकले असन्तुष्टि जनाएपछि कोषले कार्यविधि नै संशोधन गरेको हो । कोषले प्रस्ताव गरेको कार्यविधिलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पारित गर्दै वृद्धावस्थाअन्तर्गतको निवृत्तिभरण योजना र अवकाश योजनालाई सँगसँगै सञ्चालन गर्न लागेको प्रवक्ता विवेक पन्थीले बताए । उनका अनुसार वृद्धावस्था सुरक्षाअन्तर्गतका दुवै सुविधा सक्रिय हुनेछन् ।
श्रमिकको जागिर छुटेमा वा अवकाशपछि सो कोषमा जम्मा भएको रकम एकमुष्ट निकाल्न सक्नेछन् भने जागिर रहँदाको अवस्थामा सापटी लिन सक्नेछन् । त्यस्तै, निवृत्तिभरण कोषको रकम भने ६० वर्ष मासिक पेन्सनका रूपमा पाउनेछन् ।
यसअघिको व्यवस्थाअनुसार वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत निवृत्तिभरण योजना र अवकाश योजना उपलब्ध गराउँदै आएको थियो । ०७६ असार मसान्तभित्र श्रम सम्बन्धमा रहेका श्रमिकहरूले निवृत्तिभरण र अवकाश सुविधा योजनामध्ये एउटा छनोट गर्न सक्ने व्यवस्था थियो । ०७६ साउनदेखि श्रम सम्बन्ध कायम भएका श्रमिकहरूले १५ वर्ष कोषमा योगदान गरेपछि स्वतः निवृत्तिभरण योजनामा सहभागी हुनुपर्ने व्यवस्था थियो । तर, १५ वर्ष योगदान नपुगेको अवस्थामा ६० वर्ष पूरा भएपछि मात्रै वृद्धावस्था सुरक्षा योजनाबापत जम्मा भएको रकम र प्रतिफल एकमुष्ट पाउने व्यवस्था थियो ।
अवकाश सुविधामा थप चार प्रकारका कोष थप गर्न सकिने
कोषले सञ्चालन गरेको अवकाश सुविधा योजनामा श्रमिकले थप चारवटा कोष थप्न सक्ने भएका छन् । अवकाश सुविधालाई थप आकर्षक बनाउन श्रमिकले चाहेमा अन्य कोषको रकम पनि जम्मा गर्न सकिने व्यवस्था गरिएको कोषका प्रवक्ता पन्थीले बताए ।
उनका अनुसार हाल श्रमिकहरूले ३१ प्रतिशत रकम कोषमा जम्मा हुँदै आएको छ । तर, श्रमिकले योभन्दा बढी रकम जम्मा गर्न चाहेमा अवकाश सुविधा कोषमा रकम जम्मा गर्न सक्नेछन् । त्यस्तै, अन्य अवकाश कोषबाट हस्तान्तरण भइआएको रकम पनि अवकाश सुविधामा जम्मा गर्न सक्नेछन् । साथै, श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणाभन्दा बढी निवृत्तिभरण योजनामा रकम जम्मा हुन्छ भने सो सीमाभन्दा बढीको रकम अवकाश योजनामा जम्मा गर्न पाउँछन् । ६० वर्ष उमेर पूरा भएका श्रमिकहरूको निवृत्तिभरणअन्तर्गतको रकमसमेत अवकाश सुविधा योजनामा जम्मा हुने व्यवस्था गरिएको पन्थीले बताए ।
विदेशी नागरिकको मृत्यु भएमा सात लाखसम्म पाउने
अबदेखि सामाजिक सुरक्षा कोषमा आबद्ध भएका विदेशी नागरिकको मृत्यु भएको अवस्थामा ७ लाख रुपैयाँसम्म भुक्तानी पाउने भएका छन् । संशोधित कार्यविधिअनुसार आश्रित परिवार सुविधाअन्तर्गत कोषले मृतक विदेशी नागरिकको हकवालालले सो रकम पाउने व्यवस्था गरेको छ । तर, यो व्यवस्था भने स्वैच्छिक राखिएको छ ।
औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सुविधाका लागि योग्य हुन जम्मा गर्नुपर्ने योगदान रकम निरन्तर तीन महिना हुनुपर्ने प्रावधानलाई थप स्पष्ट बनाइएको छ । कोषले कार्यविधि संशोधन गर्दै तीन महिनाको अवधि गणना गर्दा योगदानकर्ताको योगदान रकम कोषमा जम्मा भएको महिनाको एक गतेबाट गणना गरिनेछ । तीन महिनाको अवधि पूरा भएपछि कुनै योगदानकर्ताले योगदान रकम कोषमा जम्मा गर्न छाडेको अवस्थामा त्यस्तो योगदानकर्ताले पुनः लगातार तीन महिनासम्म योगदान गरेको अवस्थामा श्रमिकले औषधि उपचार सुविधा र मातृत्व सुरक्षा योजना सुविधा उपयोग गर्न पाउने भएका छन् । मातृत्व सुरक्षाअन्तर्गत श्रमिककी पत्नी सुत्केरी भएपश्चात् ६ हप्तासम्मको उपचार खर्चसमेत पाउने गरी थप व्यवस्थित बनाइएको छ । यसअघि गर्भावस्थाको परीक्षण शुल्क मात्रै कोषले व्यहोर्दै आएको थियो ।
साथै, निवृत्तिभरण प्राप्त गरेका योगदानकर्ताले चाहेमा आफ्नो मासिक निवृत्तिभरणबाट निश्चित रकम कट्टा गरी औषधि उपचार सुविधालाई निरन्तरता दिन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै, रोजगारीजन्य दुर्घटना हुँदा सात दिनभित्रमा कोषलाई जानकारी दिनुपर्नेछ । कोषलाई जानकारी नगराई कोषसँग सम्झौता भएको अस्पतालबाहेक अन्य अस्पतालमा रोजगारीजन्य दुर्घटना उपचार गराएकोमा त्यस्तो उपचारबापत ७ लाख रुपैयाँभन्दा बढीको खर्च कोषबाट व्यहोरिनेछैन । रोजगारीजन्यबाहेक अन्य दुर्घटनामा भएको अवस्थामा कोषले ७ लाख रुपैयाँसम्मको मात्र उपचार खर्च व्यहोर्नेछ ।
मासिक निवृत्तिभरण रकम बढ्ने
श्रमिकहरूलाई प्रदान गरिने सेवा–सुविधालाई थप गर्दै सामाजिक सुरक्षा कोषले अवकाश योजनालाई परिमार्जन गरेको छ । जसअनुसार कोषबाट सञ्चालनमा ल्याइएको वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत जम्मा हुने आधारभूत पारिश्रमिकको २८.३३ प्रतिशत रकमलाई निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८.३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था गरेको छ ।
त्यस्तै, कोषले श्रमिकले निवृत्तिभरण योजनाअन्तर्गत मासिक रूपमा पाउने रकम पनि बढाएको छ । निवृत्तिभरण कोष कुल रकमलाई १८० ले भाग गरी मासिक निवृत्तिभरण दिने व्यवस्था भएकोमा अब १६० कायम गरी मासिक निवृत्तिभरण रकम बढाएको छ । ०७८ असार मसान्तभित्र योगदान सुरु गर्ने योगदानकर्ताले चाहेमा निवृत्तिभरणअन्तर्गतको २० प्रतिशत रकमसमेत अवकाश सुविधा योजनामा जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । बिमाकीय मूल्यांकनपछि १६० कायम हुन आएको कोषका प्रवक्ता पन्थीले बताए । (नयाँपत्रीका दैनिकबाट)