
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको एउटा गुटसँग मिलेर संयुक्त आन्दोलन नगर्ने बताएका छन् । ‘संसद् विघटनविरुद्ध कांग्रेस आन्दोलनमा छ, तर संयुक्त आन्दोलनमा किन छैन ? भनेर प्रश्न उठिरहेको छ,’ शर्माले भने, ‘कांग्रेसले कुनै राजनीतिक दलसँग सहकार्य गर्न सक्छ र संयुक्त आन्दोलनमा जान सक्छ । तरऽ एउटा पार्टीको गुटको सहकार्यमा अर्को गुटको विरोधमा संयुक्त आन्दोलनमा जान सक्दैनौँ ।’
कांग्रेसले ललितपुरमा गरेको विरोध सभामा प्रवक्ता शर्माले प्रचण्ड र माधव नेपालहरु पनि ओलीकै नेतृत्वको सरकारमा दुई वर्ष दश महिनासम्म बसेर छुट्टिएकाले त्यसको भागीदार भएको बताए । ‘उहाँहरू दुई वर्ष दश महिनासम्म त एउटै सरकारमा सँगै हुनुहुन्थ्यो, अहिले दुई महिनामात्रै त हो उहाँहरू छुट्टिएको । यो सरकारले गरेका भ्रष्टाचारका काण्डमा उहाँहरू बोल्नुभएन । अस्पतालमा उपचार नपाएर मान्छे मर्दा उहाँहरू बोल्नुभएन,’ शर्माले भने, ‘अहिले कुर्सीका लागि उहाँहरूको झगडा हो, त्यसैले हामी अहिले संयुक्त आन्दोलनमा जान सक्दैनौँ ।’
शर्माले संयुक्त आन्दोलन सम्भव हुने, तर त्यसका लागि प्रचण्ड र माधव नेपालहरूले आत्मआलोचना गरेर आउनुपर्ने बताए । कांग्रेसले प्रतिनिधिसभा विघटनको सरकारी कदमलाई प्रस्ट रूपमा असंवैधानिक र अलोकतान्त्रिक भनेर विरोधमा उत्रिएको बताए । ‘सर्वोच्चका न्यायाधीशहरू नेकपाका पोलिटब्युरो सदस्य होइनन् । न्यायाधीशहरू विद्वान् हुन्, संविधानमा जे लेखिएको छ, त्यही आधारमा फैसला गर्नुहुन्छ,’ शर्माले भनेऽ ‘कांग्रेसले आफ्नो धारणा पहिल्यै राखेको छ, संसद् विघटन असंवैधानिक हो, अलोकतान्त्रिक हो, यसमा दुईमत छैन ।(नयाँपत्रीका दैनिकबाट)