
मकवानपुरगढी- कृषिमा काम गर्न खोज्नेलाई आवश्यक अनुदान र सहयोग गरिने मकवानपुरगढी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष भागवत घिमिरेले बताएका छन् । वडा नं ३ मा रहेको धमिले कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारणसभामा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्ने क्रममा सो कुरा बताएका हुन् ।
अब किसानहरुले आय वृद्धिको लागि उत्पादनमा जोड दिनुपर्ने बताउँदै पालिकाले किसानका लागि कृषिमा अनुदान उपलब्ध गराउने नीति अबलम्बन गरिएको र किसानका लागि किसान क्रेडिट कार्ड लागू गर्न लागिएको उनले बताए । आम्दानीको मुल्यांकन गरि बालीको छनौट गरि खेती गरे मात्र सफल हुने भन्दै किसानका लागि आवश्यक पर्ने रासायनिक मल उपलब्धताको लागि आवश्यक ब्यवस्थापन गरिने बताए ।
कार्यक्रममा विशेष अतिथिका रुपमा आफ्ना धारणा राख्दै गाउँपालिका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले गाउँपालिकाले कृषि कर्ममा लाग्ने किसानका लागि विभिन्न शिर्षकमा अनुदानको कार्यक्रम ल्याएको भन्दै त्यसका लागी प्राविधिक सहयोग समेत उपलब्ध गराइने बताए ।
संस्थाले नियमित बचतमा उत्कृष्ट रहेको भन्दै ईन्द्र बहादुर आले मगर , ऋणमा योगनाथ ढुङ्गाना , बढी नगद कारोबार गर्ने आईतीमाया डिम्डुम र सबैभन्दा बढी बचत गर्ने भगवती घिमिरेलाई सम्मान गरेको छ । संस्थाले गत आर्थिक वर्षमा किसानका लागि भकारो सुधार , हाते ट्याक्टर , बेसार खेतीमा अनुदान , धानको बिउमा अनुदान लगायतका कार्यक्रमहरु गरेको छ ।
संस्थाका अध्यक्ष नवराज संजेलको सभाध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाका पुर्व अध्यक्षहरु अनिरुद्र दाहाल , प्रेम प्रसाद दाहाल , चुच्चेखोला वन समुहका प्रतिनिधि केदार पुडासैनी , संचारकर्मीहरु मनोज देवकोटा , गोविन्द शर्मा तिमल्सिना लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सभामा संस्थाका अध्यक्ष नवराज संजेलले संस्थाको प्रगति प्रतिवेदन , लेखा समितिका संयोजक टिकादत्त घिमिरेले लेखा प्रतिवेदन र ब्यवस्थापक सावित्री घिमिरेले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

