
मकवानपुर – नेकपा (एमाले) ले पार्टीको १० औं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको छ । त्यसका लागी २ सय ६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । एमालेको कमिटीमा यस अघि रहेका २४१ केन्द्रीय सदस्य तथा पछिल्लो समय नेकपा (माओवादी केन्द्र) परित्याग गरी एमालेमा आएका रामबहादुर थापा ‘बादल’ सहित २३ जनालाई केन्द्रीय सदस्यमा राखी १० औं महाधिवेशन आयोजक कमिटी विस्तार गरिएको छ ।
यसैगरी बैठकले पार्टी अध्यक्ष तथा महासचिव बाहेक सबै पदाधिकारीको पद खारेज गरेको छ । बैठकले २०७५ जेठ ३ गतेदेखि २०७७ फागुन २३ गतेसम्मको समयलाई शुन्य समयकोरुपमा परिभाषित गरिएको छ । साथै बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी पनि तोकेको छ । प्रदेश १ को इन्चार्जमा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशमा रामबहादुर थापा ‘बादल’, उपत्यकाको इन्चार्जमा आनन्द पोखरेल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल, सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।
एमालेको नवौ महाधिवेशनपछि बसेको नवौ बैठकले २४१ सदस्यीय केन्द्रीय कमिटी कायम गरेको थियो । दशौं बैठकले २३ जना थप गरी २६४ पु¥याएको छ ।
माओवादीबाट थप भएका नेताहरुमा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणी थापा, गौरीशंकर चौधरी, प्रभु साह लगायत हुनुहुन्छ । बैठकले अवको ६ महिना भित्र जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ भने विधानको दफा ६५ (३) खारेज गरी उमेर हदको व्यवस्थालाई फुकुवा गरेको छ । यसअघि सो दफामा ७० वर्ष उमेर पुगेकाले राजनीतिबाट अवकास लिने व्यवस्था थियो । अहिले त्यो व्यवस्था खारेज गरिएको छ ।
बैठकले माधव नेपाल पक्षका सबै नेताहरुको जिम्मेवारी खोसेको छ ।