
मकवानपुर- हेटौंडामा फागुन २५ गतेबाट शुरु भएको ५ दिने चिलिङ्ग भ्याट तथा मिल्क एनालाईजर मर्मत तालिमको फागुन २९ गते शनिबार (आज) समापन भएको छ ।


नेपाल सरकार कृषि तथा पशुपंछी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना अन्तर्गत विकेन्द्रीकृत आयोजना सहयोग इकाई हेटौंडा मकवानपुरको आयोजनामा भएको तालिमको समापन केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवकोटाले तालिममा सिकेको सीप ब्यवहारमा लागु गर्न सहभागीहरुलाई अनुरोध गर्नुभयो । मेसिनरी उपकरण चलाउने कुरा प्राविधिक विषय रहेको भन्दै थप प्राविधिक ज्ञानको लागी भविस्यमा यस्ता तालिमहरु पुनः आवश्यक पर्ने जनाउँदै त्यसको लागि केन्द्रिय दुग्ध सहकारी संघ सदैब लागिपर्ने बताउनुभयो ।

विकेन्द्रीकृत आयोजना सहयोग इकाई हेटौंडा, मकवानपुरका प्रमुख तथा तालिम समापन कार्यक्रमका सभापति डा. विदुर गौतमले किसानका हितको लागि कार्यालयले विभिन्न कार्यहरु गरिरहेको बताउँदै सहकारी मार्फत तल्लो वर्ग तथा न्यून आय भएका जनताका सरोकारका विषयमा काम गर्ने बताउनुभयो ।
तालिममा बागमती प्रदेश र प्रदेश नं २ का आठ जिल्लाका २४ जना सहभागी रहेका थिए । तालिमको ब्यवस्थापन मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. हेटौंडाले गरेको थियो भने संयोजन केन्द्रिय दुग्ध सहकारी संघले गरेको हो ।

तालिम समापन कार्यक्रममा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी , विकेन्द्रीकृत आयोजना सहयोग इकाई हेटौंडाका गोपिकृष्ण सेढाई , मकवानपुर जिल्ला दुग्ध सहकारी संघका संचालक सदस्य हरि कंडेल , ईन्द्र बहादुर बस्नेत ब्यवस्थापक कुमारमणी दाहाल , सहायक ब्यवस्थापक तथा तालिमका संयोजक दामोदर अधिकारी लगायतकाको उपस्थिति रहेको थियो ।

समापन कार्यक्रममा तालिममा सहभागी सप्तरीका कमल प्रसाद काफ्ले एवम् मकवानपुरका लक्ष्मी सापकोटाले तालिम अत्यन्तै उपयोगी रहेको भन्दै तालिमको अवधि अलि छोटो रहेको धारणा व्यक्त गर्नुभएको थियो । साथै उहाँहरुले तालिममा सिकेका सीप ब्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तालिमको प्रशिक्षण यसअघि पनि मिल्क एनालाईजर तालिमको सहजीकरण गर्दै आइरहेका मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका गोविन्द प्रसाद तिमल्सिना ,चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सुरेश दुवाडी र एस. एस. ईन्जिनियरिङ चितवनका संचालक शैलेन्द्री ढकालले गर्नुभएको थियो ।

