
मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नं ३ दाहालडाँडामा मुहान रहेको पानीलाई लिफ्ट सिस्टम मार्फत गाउँमा ल्याई पिउनेपानी तथा सिंचाइमा प्रयोग गरिने भएको छ ।



चैत १ गते (आज) वडाध्यक्ष भागवत घिमिरेले मुहानमा पुजा-आजा गर्दै पम्पिङ सिस्टमको स्विच थिचेर योजनाको उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा घिमिरेले गाउँघर नजिक रहेका खेर गइरहेका पानीका मुहानहरुलाई संरक्षण गर्दै त्यसको सहि सदुपयोग गर्नुपर्ने बताउँदै त्यसमा गाउँपालिका तथा वडाबाट सक्दो सहयोग पुर्याउने धारणा व्यक्त गरेका छन् ।

धमिले कृषि सहकारी संस्थाले माग गरेअनुसार बागमती प्रदेश सरकार कृषि , भुमि ब्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि ज्ञानकेन्द्र चितवनले साना सिंचाइ कार्यक्रम अन्तर्गत ५० प्रतिशत तथा स्थानीयको पचास प्रतिशत लगानीमा आयोजनाको निर्माण कार्य सम्पन्न गरिएको सहकारी संस्थाका अध्यक्ष नवराज संजेलले बताएका छन् । त्यस्तै आयोजनाको कुल लागत ३ लाख रहेको उपभोक्ता समितिका अध्यक्ष कृष्ण लामिछानेले बताए ।

आयोजनाबाट करिब १५ घरपरिवार लाभान्वित हुने जनाइएको छ । पानीको मुहान सफा र स्वच्छ रहेका कारण उक्त पानीलाई पिउनेपानीका रुपमा पनि प्रयोग गरिने स्थानीय राजेश देवकोटाले बताएका छन् ।

उद्घाटन कार्यक्रममा धमिले कृषि सहकारी संस्थाका अध्यक्ष नवराज संजेल , चुच्चेखोला सामुदायिक वन उपभोक्ता समुह तथा मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहाल , स्थानीय प्रकाश अधिकारी , भरत प्रसाद रेग्मी , रामप्रसाद तिमल्सिना , बद्री देवकोटा लगायतकाको उपस्थिति रहेको थियो ।

यसैगरी दाहालडाँडा क्षेत्रलाई पिकनिक क्षेत्रका रुपमा विकास गर्न लागिएको स्थानीयले बताएका छन् । साथै स्थानीयहरुले त्यहाँ निर्माण गरिएको विश्राम स्थल चोकलाई ‘युनिक चोक’ नामाकरण गरिएको समेत बताएका छन् ।
