
सुर्खेत / कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले आफ्नै मन्त्रालयमा कार्यरत सचिवलाई कारवाहीको माग गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेका छन् ।
मन्त्री रावलले सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्याललाई कारबाही गरिदिन माग गर्दै फागुन २३ गते मुख्यमन्त्री शाहीलाई पत्र लेखेका हुन् ।
‘सचिव लोकनाथ पौड्यालले पदबहाली गरेको समयदेखि नै मन्त्रालयको कामकाजभन्दा व्यक्तिगत कामलाई मात्र महत्व दिएको तथा पदको जिम्मेवारी, दायित्व र कर्तव्यलाई सिरानीमा हालेर निदाएजस्तो गरी चालू आर्थिक वर्ष २०७७÷०७८ को अन्तिमतिर आउँदासम्म पनि मन्त्रालयको काममा सिन्को भाँच्ने सम्मको कार्य गरेनन्,’ मन्त्रीले लेखेको पत्रका भनिएको छ, ‘सचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउनका लागि आवश्यक कदमका साथ कारवाही प्रक्रिया अघि बढाउन अनुरोध छ ।’ सामाजिक विकासमन्त्री रावलको पत्रमा उल्लेख छ।
सामाजिक विकासमन्त्री रावलको यही पत्रका आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक कारवाही र सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरेर संघीय मामिलाले पौड्याललाई लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा काज सरुवा गरेको छ ।