
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव ईश्वर पोखरेलले चैत ४ र ५ गते पार्टीले कुनै भेला आयोजना नगरेको बताएउँदै भेलामा जानेलाई कार्वाही हुन सक्ने चेतावनी दिएका छन् ।
एमालेको नाममा राष्ट्रिय भेला आयोजना गर्ने भनि सूचना प्रचारित गरिएको भन्दै उनले त्यसमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
महासचिव पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन् , ‘यस्ता अनिाधिकृत गुटगत भेला नगर्न-नगराउन,भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा एमाले सबै नेता-कार्यकर्ताहरुलाई विशेष निर्देशन गर्दछ ।’
यदि गुटगत भेलामा सहभागी भए कारवाही हुन सक्ने संकेत गर्दै पोखरेलले भनेका छन्, ‘अन्यथा मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा स्पष्ट गरिन्छ ।’
नेकपा एमालेको माधव नेपाल समूहले चैत ४ गते राजधानी काठमाडौमा आफ्नो गुट भेला बोलाएको छ । सो गूट भेलामा जानेहरुलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि कारवाही हुन सक्ने बताइसकेका छन् ।
