
मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारद्वारा निर्माण सुरु भएको पाउडर दुग्ध उद्योगको निर्माणस्थलको बिहीवार (आज) निरीक्षण गर्नुभएको छ ।
प्रदेश सरकारको रु ४१ करोड २२ लाख ७१ हजार अनुदान रकमबाट हेटौँडा उपमहानगरपालिका–१० न्युरेनीमा पाउडर प्लान्ट निर्माणको काम तिब्रगतिमा भइरहेको छ ।
अवलोकन क्रममा भुमी ब्यबस्थ, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा , मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जे एन थपलिया , प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिकाबल्लब सापकोटा लगायतकाको उपस्थिति रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले जानकारी दिएका छन् ।
प्लान्टमा दैनिक ६० हजार लिटर दूधबाट पाँच मेट्रिक टन पाउडर उत्पादन गर्ने लक्ष्य रहेको छ । चालू आर्थिक वर्ष २०७७/७८ को पुस १ गते निर्माण सम्झौता गरेको काठमाडौँ इजी इन्फा प्रालिले एक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी काम थालेको थियो ।
