
मकवानपुर- ‘मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मुल नाराका साथ आउँदो चैत २० गते ६४ औं राष्ट्रिय सहकारी दिवस भब्यरुपमा मनाउनका लागि बागमती प्रदेश सहकारी संघले १००१ सदस्यीय मुल आयोजक समारोह समिति गठन गरेको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार (आज) भएको भेलाले राष्ट्रिय सहकारी महासंघका संचालक तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको संयोजकत्वमा मुल आयोजक समारोह समिती गठन गरिएको छ । समितिको सह-संयोजकमा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे तथा सचिवमा भुमि ब्यवस्था , कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखाका कानुन अधिकृत प्रकाश चापागाँई रहनु भएको छ ।
यसैगरी मुल आयोजक समारोह समितिमा महासंघका बागमती प्रदेश भित्रका सबै संचालक , प्रदेश सहकारी संघका पदाधिकारी संचालक , प्रदेश विषयगत सहकारी संघका संचालक , मकवानपुर जिल्ला सहकारी संघका सबै संचालक , मकवानपुरका विषयगत सहकारी संघका संचालक सबै , राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा , नेफ्स्कुन हेटौंडा शाखा , सानाकिसान बैंक हेटौंडा र ग्रामीण महिला सेवाकेन्द्रका प्रतिनिधिहरु सदस्य रहेका छन् ।
दिवसको अवसरमा चैत १९ गते सहकारी एवम् पायक पर्ने चोकचोकमा दिपावली गर्ने तथा बृद्धआश्रममा फलफूल तथा खाद्यान्न वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।
यसैबीच समारोहलाई ब्यवस्थित बनाउन मुल समारोह समितिका संयोजक नारायण देवकोटाको संयोजकत्वमा १५ सदस्यीय सचिवालय समेत गठन गरिएको छ । जसमा मुल समारोह समितिका सह-संयोजक , सचिव लगायत प्रदेश विषयगत सहकारी संघका अध्यक्षहरु , मकवानपुर जिल्ला विषयगत सहकारी संघका अध्यक्षहरु , मकवानपुर नेफ्स्कुन फिल्डका प्रतिनिधि , राष्ट्रिय सहकारी बैंक प्रदेश प्रतिनिधि , सानाकिसान बैंक प्रतिनिधि , ग्रामीण महिला सेवाकेन्द्रका अध्यक्ष , मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक सदस्य रहेका छन् । यसैगरी सचिवालयको आमन्त्रित सदस्यमा बागमती प्रदेश सहकारी रजिस्ट्रार विक्रम पाण्डे , मकवानपुर जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्साल र प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिकाबल्लब सापकोटा रहनुभएको छ ।
चैत २० गते बिहान भुमि ब्यवस्था , कृषि तथा सहकारी मन्त्रालय हेटौंडा चौकिटोलबाट र्याली सहितको कार्यक्रम आयोजना गरिने मुल आयोजक समारोह समितिका संयोजक नारायण देवकोटाले बताउनुभएको छ ।
