
काठमाडौं – नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स मारवाडी संघ लगायतका २ सय ३५ भन्दा बढी उद्योगी ब्यवसायी नेकपा एमालेमा प्रवेश गरेका छन् । आज काठमाडौंमा भएको कार्यक्रममा उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्नेमा उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान समेत छन् ।उनी गत निर्वाचनमा महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालसँग पराजित भएका थिए । त्यस्तै गोल्छा अर्गनाइजेशनका सन्चालक तथा दिवाकर गोल्छाका छोरा हितेश गोल्छा पनि एमाले प्रवेश गरेका छन् । स्वर्गीय दिवाकर नेपाली कांग्रेसबाट संविधानसभा सदस्य थिए ।
त्यस्तै उद्योगी ललित अग्रवाल,नेपाल टेलिभिजनका पूर्व अध्यक्ष सिताराम अग्रवाल,कृष्ण प्रसाई, विशाल बजार सन्चालक समितिका अध्यक्ष नरेन्द्र गुप्ता,ओमप्रकाश बंशल,जुगल किशोर धनावत लगायत एमाले प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव इश्वर पोखरेलले खादा र टीका लगाई स्वागत गरेका थिए । कार्यक्रममा मन्त्री तथा पार्टीका नेताहरू सहभागी थिए ।
