
काठमाडौं- नेपालको इतिहासमै पहिलो पटक रकेट परीक्षण हुन लागेको छ । नेपाली सेनासँगको सहकार्यमा नियर स्पेसले सिन्धुलीको भिमानमा शनिबार (आज) रकेट प्रक्षेपणको पहिलो परीक्षण गर्ने तयारी गरिएको हो।
बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत आरम्भ वान रकेटको परीक्षण हुने जानकारी गराइएको छ। हालसम्म नेपालमा आधिकारिक रुपमा रकेटको प्रक्षेपण परीक्षण गरिएको छैन ।
नियर स्पेसको रकेट आठ हजार २०२ फिट माथिसम्म पुर्याइने बताइएको छ । नियर स्पेसका इन्जिनियर शिशिर जिसिले प्रधान सेनापतिको उपस्थितिमा रकेट प्रक्षेपण परीक्षण गरिने जानकारी दिए ।
‘सन् २०२४ सम्म ११० किलोमिटर माथि आकासमा रकेट पुर्याउने योजनाका साथ हामीले काम गरिरहेका छौं,’ उनले भने, ‘यो रमाईलोको लागि नभएर भोलिको दिनमा रकेट र स्याटेलाइट प्रविधिमा नेपाल पनि पछि छैन भनेर गर्व गर्नसक्ने समयका लागि हो । त्यस्तो अवस्थामा हामी प्रतिस्पर्धी र सस्तो मूल्यमा हामी अन्य देशहरुलाई आफ्नो रकेट तथा स्याटेलाइट प्रविधि सम्बन्धि उत्पादनहरु बिक्री गर्न पनि सक्छौं ।’ ३ वर्ष अघिदेखि नेपालमा रकेट बनाउने कार्य सुरु गरिएको उनले बताए ।
अर्का इलेक्ट्रोनिक इन्जिनियर सोभानराज श्रेष्ठले ६० किलोमिटर यात्रा तय गर्नसक्ने नेपालकै पहिलो ड्रोन बनाएका छन् । नेपालका दुर्गम ठाउँहरुमा औषधी पुर्याउन र प्रकोपको समयमा उद्धार कार्यमा प्रयोग गर्न सकिने यो ड्रोनको परीक्षण भने उनले पूर्ण रुपमा गर्न पाएका छैनन् ।
सिन्धुलीको भिमानमा हुने रकेट प्रक्षेपण परीक्षणको समयमा उनले आफ्नो ड्रोन समेत परीक्षण गर्नेछन् । ‘हामी १० किलोमिटरको दूरीमा यसलाई उडाउन सफल भइसकेका छौं,’ उनले भने, ‘तर स्थान अभावमा पूर्ण क्षमतामा परीक्षण गर्न पाइरहेका थिएनौं । अब नेपाली सेनाको सहयोगमा २० देखि ३० किलोमिटरसम्मको दूरीमा यो ड्रोन परीक्षण गर्दैछौं ।’
६० किलोमिटरको दूरीसम्म उड्ने गरी डिजाइन गरिएको गौंथली ड्रोनले १.५ केजी तौलसम्मको सामान बोक्न सक्छ । बाहिर बनेका ड्रोनहरु हाइ अल्टिच्यड सुहाउँदो नभएको उल्लेख गर्दै श्रेष्ठले आफ्नो ड्रोन भने ३००० मिटरसम्मको उचाईका लागि डिजाइन गरिएको बताए ।
पत्रकार सम्मेलनमा युथ फर नेसनका अध्यक्ष डा निकोलस भुषालले सोलार स्कुटर, पानीले चल्ने गाडी, प्लास्टिक रोडहुँदै नेपाली युवाहरु रकेट उडाउने स्तरसम्म अगाडि बढिसकेको बताए ।
महाबिर पुनले नेतृत्व गरेको राष्ट्रिय आविष्कार केन्द्रमा रकेटको इन्धनको परिक्षण गरिएको थियो ।