
मकवानपुर- नेकपा एमालेका प्रभावशाली सांसद कृष्णभक्त पोखरेल संस्थापन पक्ष (ओलि समूह)मै फर्किएको घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार (आज) भएको संसदीय दलको बैठकमा उहाँले एमाले पुनःस्थापित भएपछि आफु सबैभन्दा खुशी भएको बताए ।
जनताको बहुदलिय जनबाद (जबज) र सूर्य चिन्हका साथ नेकपा (एमाले) पाएपछि आफू केपी ओलीको अभियानलाई सघाउन पूरानो समूह त्यागेर संस्थापन पक्षमा आएको बताउनु भयो । ‘छुट्टै दलको बैठक बस्नुपर्ने कुरा सकियो । म अब मूलधारमा लागेँ, यसबीचमा कहिँ कतै गल्ति भएको भए माफ पाउँ । मेरो गुरु सुवास नेम्वाङलाई मैले भने संसद विघटनमा मेरो असहमति थियो । अब सम्बृद्ध नेपाल बनाउन केपी ओलीको अभियानलाई साथ दिन र पार्टी एकताको लागि म यहाँ आएको छु’, पोखरेलले भनेका छन् ।
यसैबीच आज भएको संसदीय दलको बैंठकमा नेता बामदेव गौतम पनि सहभागी भएका छन् । उनले पार्टीको निर्णय आफुले मान्ने पनि बताएका छन् ।
नेकपा एमालेको आज सम्पन्न संसदीय दलको बैठकले पार्टीको बिधान संशोधन गर्दै दलको उपनेता संसदीय दलका नेताले छान्ने प्रावधान राख्ने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।