
काठमाडौ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीसँग छुट्टिने पक्षमा आफू नरहेको बताएका छन्। शनिबार युवा संघको भेलामा नेता नेपालले आफूहरुको ‘मायाप्रीति’ ४८ वर्ष पुरानो भएकोले सजिलै नतोडिने बताए। तर त्यसका लागि सबैले विधानका आधारमा चल्नुपर्ने उनको भनाई छ।
‘मैले भनेको छु, विधानका आधारमा अगाडि बढौँ। प्रत्येक व्यक्ति कमिटी र संगठनको मातहतमा हुन्छ। केपी कमरेडले त्यो स्वीकार गरे हामी सँगै जाने पक्षमा छौँ। हामी केपी ओलीसँग छुट्टिने पक्षमा छैनौँ,’ नेपालले भने, ‘त्यत्रो लामो समयको माया-प्रीति कहाँ एक रातमा छुट्टिन्छ ? केपी ओलीसँगको मेरो माया प्रिति ४८/४९ वर्षको भयो थाहा छ ?’
आज पनि सांसदहरू बसेर विधिसम्मत ढंगले संसदीय दलको कार्यालयमा बैठक राख्न आग्रह गरिएको उनले बताए। ‘निजी निवासमा राखिएका त्यस्ता बैठक मान्दैनौं, संसदीय दलको कार्यालयमा बैठक बोलाएमा हाम्रा कुरा त्यहाँ राख्छौं। हामी एकताको हात बढाउन चाहन्छौं,’ नेपालले भने, ‘पार्टीभित्र सही कुराको लागि लडिरहेका छौं, राम्रो पार्टी निर्माणका लागि लडिरहेका छौं।’
आफू पुराना कुरा बिर्सन तयार रहेको उल्लेख गर्दै नेता नेपालले नयाँ ढंगले अगाडि बढ्न अध्यक्ष ओलीसँग प्रस्ताव पनि गरे। उनले आफूहरू पार्टीभित्र सही कुराको लागि लडिरहेको भए पनि एकताको हात बढाउन तयार रहेको बताए।
उनले नेकपाको एकता खारेज गराउने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाए। फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको नामको मुद्दामाथि गरेको फैसलाले नेकपा खारेज भएको थियो। तर उक्त फैसलालाई नेता नेपालले जन्मिसकेको बच्चालाई गर्भमै लैजान भने जस्तै अव्यवहारिक निर्णय भएको टिप्पणी गरे। तर सर्वोच्चको फैसला गलत भए पनि पालना गर्नुपर्ने बाध्यता भएको नेपालको भनाइ थियो ।
‘अब हामीले असहमति भए पनि सर्वोच्चको फैसला लागू गर्दिनँ भन्न मिलेन। बाध्य भएर त्यसलाई लागू गर्नुपर्ने भयो। जन्मेको बच्चा मान्दैनौँ, फेरि गर्भमा लिएर जाऊ भनेजस्तै फैसला हो यो’नेता नेपालले भनेका छन्। अदालतले पार्टीको नाम जुधेकोमा फेरि अर्को नाम राख्न सुझाव दिनुपर्नेमा एकता नै रद्द गरी विचित्रको फैसला गरेको नेपालको भनाइ छ। गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलासँगै पुरानै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिएका छन्। (लोकपाटीबाट)