
मकवानपुरगढी- भानु माविका शिक्षक किरण पाण्डे पक्राउका विषयलाई लिएर मकवानपुरगढी गाउँपालिकाका शिक्षक संगठनहरुले एक विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएका छन् ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लीलानाथ ढुङ्गेल , नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष शिव प्रसाद लामिछाने , नेपाल शिक्षक संघका अध्यक्ष प्रल्हाद घिमिरे र अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष यादव अधिकारी ले संयुक्त हस्ताक्षर गरिएको विज्ञप्तीमा घटनालाई अति रन्जित गरि शिक्षकको चरीत्र हत्या गर्न खोजिएको बताईएको छ । साथै दुराशापुर्ण , कपोकल्पित आरोप लगाई शिक्षकको चरीत्र हत्या गर्ने , विद्यालयको पठनपाठन बिथोल्ने अराजक जत्था तथा त्यस्तो आरोप लगाउनेहरु माथि छानबिन गरि कडा कार्वाही हुनुपर्ने माग गर्दै निर्दोष शिक्षकलाई स-सम्मान रिहाई गर्न संबन्धित निकायसँग अनुरोध गरिएको छ ।
विद्यालयमा गएको चैत १० गते विद्यार्थीहरुसँग जंकफुड नियन्त्रण गर्ने क्रममा शिक्षक र विद्यार्थी बीच विवाद हुँदै गर्दा गत फागुन २९ गतेको एकदिने शैक्षिक अवलोकन भ्रमणका क्रममा एक छात्रालाई अभद्र व्यवहार गरेको भनी शिक्षक किरण पाण्डे माथि अतिरन्जित आरोप लगाई केही विद्यार्थी तथा अभिभावकको भिडले प्रहरी प्रशासन बोलाई उजुरी दिएको र शिक्षक पाण्डेलाई पक्राउ गरिएको घटना प्रती शिक्षक संगठनहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।
घटनालाई लिएर जनप्रतिनिधि , सामाजिक शिक्षा संयोजक , गाउँपालिका शिक्षा प्रमुख तथा शिक्षक संगठनका अध्यक्षहरुको टोलीले सम्बन्धित विद्यालयमै गई विद्यालयका विद्यार्थी , शिक्षक , विद्यालय प्रशासन , विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लगायत समिति तथा सरोकारवालाहरुसँग छुट्टाछुट्टै एवम् सामुहिक सोधपुछ तथा छलफल गर्दा त्यस्तो अवाञ्छित कुनै दुर्व्यवहार हुने कुनै क्रियाकलाप भए गरेको नदेखिएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
