
मकवानपुरगढी- पशुआहारमा प्रयोग गरिने साईलेस उत्पादन तथा प्रयोग गर्नुपर्नेमा गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले चासो राख्नु भएको छ ।


आइतबार बारा जिल्लाको पिलुवामा साईलेस तयार गरिने तरिका र उत्पादन गर्ने मेसिन (बेलर)को बारेमा जानकारी लिनुभएको हो । प्रोग्रेसिस डेरी एण्ड एग्रो सोलुसन , हेटौंडा ले मेसिन खरिद गरि संचालनमा ल्याएको हो ।

मेसिन (बेलर) को लागत मुल्य २० लाख भारु र मकै काट्ने कटरको १३ लाख भारु परेको प्रोग्रेसिस डेरी एण्ड एग्रो सोलुसनका प्राविधिक कर्मचारी सहदेव केसीले बताउनुभयो ।
साईलेस बनाउनको लागि घोगा लागेको दुधिलो मकै सहितको बोट उपयुक्त हुने र प्रतिकठ्ठामा लगाइएको मकैबाट २० पोका उत्पादन हुने उहाँले बताउनु भयो । एक पोकामा १ सय केजी भन्दा माथि नै साईलेस हुने तथा प्रती केजीको १२/- रुपैयाँमा बिक्री गरिएको उहाँले बताउनुभयो ।

बेलर मेसिनबाट प्रतिघन्टा ६० पोकासम्म प्याकिङ गर्न सकिने साथै साईलेस उत्पादन गरिएको १ वर्ष सम्म पनि पशुलाई खुवाउन सकिने ,यसको प्रयोगले पशुको दूध उत्पादनमा वृद्धि हुने बताइएको छ ।
अन्य सुख्खा घाँस-परालको सट्टा साईलेस घाँस प्रयोग गर्दा घाँस पोषिलो भएका कारण पशु मोटाउने र धेरै दूध उत्पादन हुने तथा ढुटो(ब्राण्ड) , चोकर कम खुवाउँदा पनि हुने यसको प्रयोगकर्ता किसानहरु बताउँछन् ।

यसैबीच अनुगमन भ्रमण पश्चात् पालिका अध्यक्ष हुमागाईले किसानको हितको लागि यस्ता मेशिन खरिद गर्नको लागि पालिकाले आवश्यक पहल कदमी र सहयोग गरिने बताउनुभयो । साथै साईलेस उत्पादनका लागि मकै आवश्यक भएको हुँदा किसानले मकै उत्पादनमा समेत जोडदिनु पर्ने उहाँले बताउनुभयो ।
अनुगमन भ्रमण टोलिमा वडा ३ र ४ का वडा अध्यक्षहरु भागवत घिमिरे र रामप्रसाद तिमल्सिना , मकवानपुरगढी विशिष्टकृत दुग्ध सहकारी संघका अध्यक्ष हरिकुमार हुमागाई, ब्यवस्थापक विष्णु दंगाल , उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष विष्णु प्रसाद घिमिरे लगायत संचारकर्मीद्वय इन्द्रजित देवकोटा र गोविन्द शर्मा तिमल्सिनाको सहभागिता रहेको थियो ।