


काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
सोमबार काठमाडौं बसेको माओवादी केन्द्र बागमती प्रदेशको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सभामा विपक्षमा बस्ने निर्णय गरेको हो ।
बैठकले गत पुस १० गते बागमती प्रदेशसभा सचिवालयमा तत्कालीन नेकपाका ४५ जना सदस्यहरुको हस्ताक्षरसहित दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने समेत निर्णय गरेको श्रोतले बताएको छ । साथै बैठकले प्रदेशको संसदीय दलको नेतामा शालिकराम जम्कट्टेल र उप–नेतामा कुमारी मोक्तान चयन गरेको छ ।
एमालेले कर्णाली प्रदेशमा माओवादीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै वागमती प्रदेशमा माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको बुझिएको छ ।
प्रदेशसभामा कुल ११० जना सदस्यमध्ये माओवादी केन्द्रका २३ जना सांसद रहेका भने नेपाली काँग्रेसको २२, विवेकशील साझाको ३, नेमकिपाको २, राप्रपाको २ र स्वतन्त्र सदस्य १ जना रहेका छन् ।
प्रदेश सभामा सरकार चलाउन पर्याप्त नेकपा एमालेसङ्ग ५७ जना सांसद रहेको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिए पनि एमालेसङ्ग बहुमत रहेकोले सरकारलाई कुनै पर्ने देखिदैन ।