
मकवानपुर- हेटौंडामा पहिलो ‘मिसेज तामाङ मकवानपुर’ शुरु भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै ओपेरा इन्फोटेन्मेण्ट क्रियशन प्रालिको आयोजनामा प्रतियोगिता हुने प्रालिका अध्यक्ष तथा कलाकार विक्रम लुङ्वाले घोषणा गरेका छन् ।
प्रतियोगिताका लागि आवेदन मंगलबारदेखि चैत्र २४ गतेसम्म खुल्ला रहने लुङ्वाले जानकारी दिए । प्रतियोगितामा २० वर्षदेखि ४५ वर्ष उमेर समूहका मकवानपुरे विवाहित तामाङ महिलाले सहभागी हुनसक्ने छन् । सहभागिताका हुन आवेदन फारमकालागि १ हजार ५ सय रुपैयाँ र प्रशिक्षणका लागि १५ हजार रुपैयाँ लाग्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताका सहभागीहरुलाई आयोजक संस्थाको तर्फबाट प्रशिक्षक रविन्द्र बज्रचार्यबाट प्रशिक्षण प्रदान गरिने बताइएको छ ।
चैत्र २५ गतेदेखि प्रतियोगीहरुलाई २५ दिने विशेष तालिम प्रदान गरिनेछ भने प्रतियोगिताको फाइनल आगामी बैशाख अन्तिम साता हुने बताएको छ । प्रतियोगिताका विजेताले क्राउन सहित नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै फर्स्ट रनर अप र सेकेण्ड रनर अपका लागि पनि पुरस्कारहरु घोषणा गरिनेछन् । कार्यक्रममा करिब ५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
पत्रकार सम्मेलनमा गायक अणराज तामाङ, हाँस्य कलाकार धन पाख्रिन, पूर्व मिस तामाङ मकवानपुर आयोजक टिमका सदस्यहरु शरण मोक्तान, माया घलान, पूर्व मिस तामाङ विनिमा लामा, प्रथम मिसेज तामाङ मकवानपुरका संयोजक सुशिल थिङसहितको उपस्थिति रहेको थियो ।