
मकवानपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रतिनिधिसभामा रिक्त समानुपातिक सदस्यमा निर्वाचन आयोगले सिराहाका जानकीदेवी रामलाई निर्वाचित गरेको छ । आयोगको बुधबार बसेको बैठकले रामलाई निर्वाचित गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहनुभएका रामको नाम आज बिहीबार संघीय संसद सचिवालयमा पठाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । एमालेको चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले सांसद सानु शिवाको निधन भएपछि रिक्त रहेको ठाउँमा रामलाई निर्वाचित गर्न आयोगलाई सिफारिस गरेको थियो ।
दलित कोटामा बन्दसूचीमा रामभन्दा अगाडि रहनुभएका धनकुमारी सुनारले पार्टी परित्याग गर्नुभएको थियो । धनकुमारी पछि सो सूचीमा राम रहनुभएकोले उहाँलाई अवसर प्राप्त भएको हो । राम निर्वाचित भएसँगै अब एमालेमा १२१ जना सांसद प्रतिनिधिसभामा कायम रहनेछन् ।